आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, नेपाललाई पार्टी एकताका लागि दबाब

२ बर्ष अगाडि

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा तीन दिनदेखि सुरु भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि हुने भएको हो । 

बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।

हिजोको तेस्रो दिनको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् । उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको बताए ।

पार्टी नीतिविपरीत नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

यता नेता माधव नेपाललाई पार्टी एकताका लागि दबाब बढेको छ । नेपालले बुधबार आफू निकटका नेतासँग छलफल गरेका थिए । त्यसक्रममा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने र रघुजी पन्तले आफ्ना धारणा राखेका थिए ।

न्यौपानेबाहेक सबैले पार्टी एकता कायम राख्नुपर्ने, कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न दबाब दिनुपर्ने, नेताहरूमाथि हुने गालीगलौज र अनैतिक गतिविधि रोक्नुपर्ने तथा स्पष्टीकरणका नाममा एकता र १० बुँदे सहमति कार्यान्वयनमा अवरोध गर्न नहुने बताएका थिए । 

नेपालले पनि आफू सम्मानजनक एकताका पक्षमा रहेको बताएका थिए । नेपाल पक्षका नेता गोकर्ण बिष्टले एकतामा असर पर्ने कुनै पनि कार्य नगर्ने विषयमा छलफल भएको बताए । उनले अर्को पक्षबाट त्यस्तो गतिविधि भइरहेको तर्फ संकेत गर्दै त्यसले एकताविरोधी तत्वलाई बल पुग्ने बताए ।

अर्का सदस्य रघुजी पन्तले कुनै पनि प्रकारको उत्तेजक कामकारबाहीले एकतामा असर पु¥याउने भएकाले त्यस्तो काम कतैबाट पनि हुनुहुँदैन भन्नेमा आफूहरू अडिग रहेको बताए । 

२ बर्ष अगाडि

प्रतिक्रिया