२ हप्तामा पनि खुलेन रङ्गपथ मार्ग, नहरमा डुबेर दुई जनाको मृत्यु

२ बर्ष अगाडि

पहिराले अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हुँदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।

गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभ¥याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका सर्वसाधारणलाई प्रत्यक्ष मार परेको स्थानीयवासी रामबहादुर अधिकारीले बताए । “बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा पनि समस्या आएको छ । बिरामी हुँदा अस्पतालसम्म आउन पनि कठिनाइ भएको छ”, उनले भने, “लामो समय हुँदासम्म पनि बाटो खोल्न सरोकारवालाको ध्यान गएन ।”

भानु–५ का वडाध्यक्ष प्रकाश मल्ले आफ्नो क्षेत्रमा भने सवारी साधनमा अवरोध नभएको बताए । छिर्कनेदेखि पिपलथोकसम्म व्यास–१२ को क्षेत्र भएकाले आफूले सो क्षेत्रमा केही पनि गर्न नसकेको उनको भनाइ छ । “मुख्य अवरोध भनेको व्यासको वडा नम्बर १२ मा नै हो । भानु–५ को मोटरमार्गमा पर्ने बाटोको अवरोध हटाइसकेका छौँ”, उनले भने, “त्यो बाटोको विकल्पमा नागनागिना हँुदै मैवल अनि नावरुङ जान सकिन्छ ।”

व्यास–१२ का वडाध्यक्ष तोत्रबहादुर कुँवरले आफ्नो वडाको क्षेत्र भए पनि त्यहाँ ठेक्का लागिसकेको हुँदा केही गर्न नसकेको बताए । प्रदेश सरकारले उक्त बाटोको स्तरोन्नति गरी बाटो मर्मत गरेको थियो । त्यसैले गर्दा त्यो ठेकेदारले नै काम गर्नुपर्ने उनले बताए । “वडा आफ्नो भए पनि बाटो समितिले काम गरेको र त्यो ठेकेदारलाई सम्पर्क गर्ने प्रयास गरेको छु”, उनले भने ।

बाटोको विषयमा पनि वडा र नगरपालिकाले राजनीति गरेको स्थानीयवासी शिव शाहीले बताए । “भानुको वडा कार्यालयमा भन्दा क्षेत्राधिकारभित्र पर्दैन भन्छ, व्यास–१२ मा सम्पर्क गर्दा ठेकेदार खोजेर ल्याउनु भन्छ । ठेकेदार सम्पर्कविहीन छ”, उनले भने, “नगरपालिकामा सम्पर्क गर्दा वडामार्फत आउनु भन्छ । यो अति नै राजनीति भयो ।” बाटो अवरुद्ध हुँदा दैनिक जीवनयापनमै प्रत्यक्ष असर परे पनि सम्बन्धित निकाय पन्छिने काम गरेको उनको आरोप छ । 

छिर्कने बजारको पिपलथोकदेखि डाँडाथोकसम्म करिब आठ किलोमिटर रहेको भगवती रङ्गपथ मोटरमार्गअन्तर्गत करिब एक किलोमिटर मोटरमार्गमा गएको पहिरोले गर्दा घरसमेत जोखिम परेको छ । 

यस्तै नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन् । प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया