राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी !

२ बर्ष अगाडि

नेपालका १५ वटा बैंकलाई सिस्टम ह्याक गरी पैसा चोर्ने धम्कि आएको छ ।नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी सहित  फोन र इमेल आएको हो । 

अपरिचित नम्बरबाट चेतावनी सहित ती संस्थाका उच्च अधिकारीहरूलाई फोन र इमेल  आएको  राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन् । 

ह्याकरले बुधबार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि आएको छ । 

ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ । इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनीसमेत दिइएको छ ।

प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट टेलिफोनमार्फत समेत धम्की आएको उनले बताए । ‘अंग्रेजीमा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदै छ भनेर फोन काट्यो,’ उनले भने, ‘यसबारे हामी हिजोदेखि नै सचेत छौं । सबै बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन आग्रह गरेका छौं ।’ ह्याकरको इमेल र टेलिफोन कलबारे सरोकारवालालाई जानकारी गराएर सचेत हुन आग्रह गरिएको र थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र बिहीबार बिहानसम्म कुनै गडबडी नभएको सम्बद्ध बैंकहरूले जनाएका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया