कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब लगानी गर्ने, १० महिना भित्र बोलपत्रको काम थालिने

२ बर्ष अगाडि

काठमाडौं - कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा एक्लै लगानी गर्न लागेको हो । 

लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आइतबार हस्ताक्षर गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गरेका हुन् ।

झण्डै १०० मेगावाट क्षमताको सो आयोजना असाध्यै आकर्षक भएकाले आफूहरुले लगानी गरेको कोषका प्रशासक गौतमले जानकारी दिए । माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौ अगाडि बढाउन लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ ।

माथिल्लो तामाकोशीको दुईवटा युनिट परीक्षण भइरहेको छ । गत असारको अन्तिम साता उद्घाटन भएको भए पनि उपकरणमा समस्या आएपछि केही दिन आयोजना बन्द भएको थियो ।

तामाकोशी पाँचौँको कूल लगानी रु १६ अर्ब रहने अनुमान गरिएको छ । कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ । माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर सुरीदोभान पु¥याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ ।

तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत रु १६ करोड मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । 

आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आवश्यक सबै काम सकेर आगामी १० महिना भित्रमा बोलपत्रको काम थाल्ने र निर्माण शुरु गरिहाल्ने योजनामा प्रवद्र्धक कम्पनी लागिपरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया