नेपालबाट अस्ट्रेलिया जना हवाई भाडा ११ लाख ९० हजार, कोरोना महामारी अघिको तुलनामा ११ सय प्रतिशत बढी

२ बर्ष अगाडि

काठमाडौं - नेपालदेखि अस्ट्रेलियाको सिड्नी जान काठमाडौंबाट एकतर्फी हवाई भाडा कम्तीमा ११ लाख ९० हजार रुपैयाँ रहेको छ । यो भाडादर कोरोना महामारी अघिको दाँजोमा करिब ११ सय प्रतिशत बढी हो । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अनुसार, कोरोना संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले अहिले विश्वभरबाट प्रतिदिन ५ सय यात्रुलाई मात्रै प्रवेश गर्न दिने नियम बनाएको छ । 

त्यसमा पूर्वी एसियाली मुलुकका वायुसेवालाई सातामा कसैलाई एक, कसैलाई दुइटा मात्रै उडान अनुमति दिएको छ । त्यसमा पनि एउटा जहाजमा ३० जनाभन्दा बढी यात्रु बोक्न पाइँदैन ।

कोरोनाअघि अस्ट्रेलिया जान ५५ हजारदेखि ९० हजार रुपैयाँसम्ममा टिकट पाइन्थ्यो । महँगोमा टिकट किने पनि नेपाली विद्यार्थी वा पर्यटक भिसाबाहकले सजिलै अस्ट्रेलिया जान पाउँदैनन्, त्यहाँको नागरिक वा पीआरवाहक हुनुपर्छ । 

त्यसमाथि पनि यात्रु ४० घण्टामा मात्रै सिड्नी पुग्छन् । काठमाडौंबाट ४ घण्टा हाराहारीमा दोहा पुगेपछि त्यहाँ करिब २० घण्टा ट्रान्जिटमा बस्नुपर्छ । त्यहाँबाट १४ घण्टा लामो यात्रा गर्नुपर्छ । यतिका झन्झटपछि आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइन अनिवार्य गरिएको छ ।

अस्ट्रेलिया जानैपर्ने भए एक मात्र विकल्पका रूपमा दोहा रुट खुला रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले जनाएको छ । छोटो र सस्तो रुटमध्येको मलेसियाको रुट अझै खुलेको छैन । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया