धुलिखेल अस्पतालले नमोबुद्धमा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गर्दै

२ बर्ष अगाडि

धुलिखेल अस्पतालले आफ्नो  स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । अस्पतालले नमोबुद्ध नगरपालिका–११ को भालुखर्क स्वाराडाँडामा स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना गर्ने भएको हो  । 

नमोबुद्ध नगरपालिकाले झण्डै डेढ सय रोपनी सार्वजनिक जग्गा धुलिखेल अस्पताललाई उपलव्ध गराउने भएपछि  अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी भएको हो । अनुसन्धान केन्द्र स्थापना हुने ठाउँ धुलिखेलबाट १८ किमीको दुरीमा चयन गरिएको छ ।

 केन्द्रले नेपाल तथा अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरुको नेतृत्व लिनेछ भने नेपालसहित विश्वभरका विशेषज्ञहरु यसमा संलग्न हुनेछन् । स्वास्थ्य अनुसन्धानमा आधारित स्नातकोत्तर तथा पिएचडी कार्यक्रमको लागि यो अगुवा केन्द्रको रुपमा विकास हुने बताइएको छ ।

नमोबुद्ध नगरलाई कृषि, स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्र बनाउने उद्देश्य  अनुसार विभिन्न निकाय र संस्थासँग सहकार्य गर्दै अघि बढेको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । नगरपालिकाभित्र मदन भण्डारी विश्वविद्यालय, कानुन विश्वविद्यालय, स्टाफ कलेज, कृषि अनुसन्धान केन्द्र तथा युथ इनोभेसन सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको र अब स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनापछि नगरको पहिचान अझै बढ्ने तिमल्सिनाले बताए  ।

 नगरपालिकाले स्टाफ कलेज स्थापनाका लागि ९ सय रोपनी जग्गा उपलव्ध गराएर अहिले निर्माण प्रक्रिया अघि बढिसकेको छ भने वडा नं। ५ मा कृषि अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया समेत सुरु भइसकेको छ । उनले स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिकाले विशेष पहल गरेको र सोहीअनुसार जग्गा उपलव्ध गराउने निर्णय भएको बताए ।

सोमबार धुलिखेल अस्पतालमा नगरपालिका, स्थानीयबासी र अस्पतालबीच  बसेको बैठकले एक महिनाभित्र जग्गा प्राप्तिको कानुनी प्रक्रिया तथा अन्य तयारी पुरा गरेर केन्द्र स्थापनाका लागि समझदारीपत्र (एमओय)मा हस्ताक्षर गर्ने निष्कर्ष निकालेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया