अन्तर प्रदेश चल्ने यातायातको भाडा बढाइएपछि उपत्यका र जिल्लामा समेत बढी लिइएको यात्रुको गुनासो, कारबाही नियमित

२ बर्ष अगाडि

काठमाडौं - यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन शाखा प्रमुख सुनीलजङ्ग शाहले राससलाई जानकारी दिए । 

बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर यात्रु बोक्ने सवारीका विषयमा महाशाखाको फोन नं १०३ खबर गर्न पनि उनले आह्वान गरेका छन् ।

सरकारले असार २८ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढाएको थियो । अन्तर प्रदेश चल्ने यातायातमा भाडा बढाइएकामा काठमाडौँ उपत्यका र जिल्ला जिल्लामा समेत बढी लिइएको यात्रुको गुनासो छ । 

प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार स्थानीय सरकारलाई रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल बताउछन् । दुवै सरकारले अहिलेसम्म भाडा बढाउने निर्णय गरेका छैनन् । भाडा बढाउनेलाई कारबाही पनि नगरेकामा यात्रुको गुनासो छ ।

न्यूनतम चार किमी यात्रा गर्दा रु १४ भाडा तोकिएकामा हाल रु २० उठाउन थालेको यात्रुको भनाइ छ । अठ्ठाइस प्रतिशत भाडा बढेकाले रु २० लिएको सार्वजनिक यातायातका परिचालकको भनाइ छ । यसरी भाडा लिँदा परिचालकले टिकट भने दिँदैनन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया