दुर्गेश थापालाई संस्थागत र सार्वजनिक रुपमा बहिष्कार  !

२ बर्ष अगाडि

नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई संस्थागत बहिष्कार गर्ने भएको छ । थापाले केहीदिन अगाडि ल्याएको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ तीजको मर्म विपरित रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको ठहर गर्दै प्रतिष्ठानले सो कदम उठाउन लागेको हो ।

केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको प्रतिष्ठानले दुर्गेशलाई गीतको बिषयमा आधिकारिक पत्र काट्दै सच्याउन समेत अनुरोध गरेको थियो । प्रतिष्ठानको अनुरोध अटेर गर्दै दुर्गेशले गीत सार्वजनिक गरेका थिए । प्रतिष्ठानले आफ्नो अनुरोध अस्वीकार गर्दै नेपाली कलासंस्कृति माथि लगातार प्रहार गरेको भन्दै दुर्गेशलाई संस्थागत र सार्वजनिक रुपमा बहिष्कार गर्ने निर्णयमा प्रतिष्ठान पुगेको प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्युनिकरण विभाग समितिका संयोजक शिव हमालले बताए ।

‘प्रतिष्ठानको पटक पटकको बैठकमा दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने छलफल भएको छ । आधिकारिक निर्णय हुन पनि छिट्टै हुन्छ ’ हमालले भने ‘एउटा व्यक्तिसँग प्रतिष्ठान झुक्ने छैन । कारवाही हुन्छ ।’ प्रतिष्ठानको अनुरोधका कारण यो वर्ष तीज गीत गाएका हमालले दुर्गेशले मात्र अटेर गरेर पैसा र चर्चाका लागि विकृत गीत ल्याएको बताए ।

हमालले संस्थागत बहिष्कारको रुपमा दुर्गेशलाई प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्बन गर्ने, प्रतिष्ठानको सेवा सुविधाबाट हटाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले व्यवसायिक साझेदारी नगर्ने, सार्वजनिक मेला महोत्सवबाट बहिस्कार गर्ने देशभरका आफ्नो शाखा तथा कार्यक्रम आयोजक कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नगराउन अनुरोध गर्ने लगायत रहेको जानकारी दिए ।

अहिलेसम्म आफुहरुले गीत संगीत आफ्ना हिसावले स्वतन्त्र रुपमा ल्याउन पाएको उल्लेख गर्दै हमालले थपे ‘दुर्गेशको क्रियाकलापबाट राज्यले गीत संगीतमा सेन्सर लगायो भने पुरै संगीतिक क्षेत्रकै दुर्भाग्य हुनेछ । त्यो दुर्घटना घट्नु पहिले हामी सबै सचेत हुनुपर्छ भने लागेर दुर्गेश बिरुद्ध कदम चाल्न लागेको हो ।’ दुर्गेशका गीतले बालबालिकाको मनस्थितिमा समेत नकारात्मक प्रभाव पार्ने हमालको ठहर रहेको छ ।

दुर्गेश भने प्रतिष्ठानको सबै अनुरोध बेवास्ता गर्दै आएका छन् । व्यक्तिगत मेरो चर्चा भएको छ । राज्यले त केही गरेको छैन । संघ–संस्थाले के गर्न सक्छ भनेर उनले भन्ने गरेको प्रतिष्ठानका भनाइ रहेको छ । दुर्गेशको विषयमा लोक तथा दाहोरी गीत प्रतिष्ठानको बैठक आइतबार पनि बसेको थियो । बैठकमा दुर्गेश विरुद्ध राज्यलाई कारवाहीको माग, गुगलमा उजुरी, संस्थागत बहिस्कार लगायतका बिषयमा छलफल भएका थिए ।

प्रतिष्ठानका अध्यक्षले रमेश बिजीले पनि दुर्गेशको क्रियाकलापको बिषयमा महिला दिदीबहिनी जागरुप हुनुपर्ने बताएका छन् । महिला दिदीबहिनीले दुर्गेशका यस्ता कृयाकलापको बिरोध गर्दै अव यस्तो कार्य गर्न हतोत्साहित गर्नुपर्ने उनले भनाई रहेको छ । जुलाई २३ मा रिलिज भएको गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ ।–रातोपाटि 

२ बर्ष अगाडि

प्रतिक्रिया