चीनमा बढ्न थाल्यो कोरोना सङ्क्रमित, जापानको चार क्षेत्रमा सङ्कटकाल

२ बर्ष अगाडि

काठमाडौं - चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ ।

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।

चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तररुपमा नयाँ नयाँ सङ्क्रमित देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचनाहरु आइरहेका ती अधिकारीहरुले जनाएका छन् ।

स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच शुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, सङ्घाइमा पनि सङ्क्रमित देखिएका छन् ।

साथै ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ ।

यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुुँँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् ।

टोकियोबाट नजिकै रहेको क्षेत्रमा सङ्कटकाल लगाइएको हो । सङ्कटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ । टोकियो र ओकिनावामा लगाइएको सङ्कटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ । 

जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ । सङ्कटकालका बेला मादकपदार्थ बिक्री वितरणमा पनि कडाइ गरिएको छ । अन्य व्यापार व्यवसायलाई पनि नियन्त्रण गरिएको छ । उनीहरुलाई बेलुका ८ बजे बन्द गरिसक्न निर्देशन दिइएको छ । 

सङ्कटकालको निर्देशन पर्याप्तरुपमा कार्यान्वन भएको वा नभएका बारेमा अनुगमन गर्न सरकारी अधिकारीहरु पनि धेरै खटाइएको छ । सरकारले अन्य छ क्षेत्रमा पनि खुकुलो सङ्कटकाल लगाएको छ । ती क्षेत्रहरुमा महामारी पनि कम रहेको र प्रतिबन्धात्मक व्यवस्थाहरु पनि खुकुलो बनाइएको अधिकारीहरुले जनाएका छन् । 

    

२ बर्ष अगाडि

प्रतिक्रिया