एकै वडामा १० जलविद्युत् आयोजना, ११० वटा टावरमा डबल सर्किटको तार बिस्तार

२ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

विसं २०४५ मा नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेको नारच्याङमा २०७६ सालमा म्याग्देलीहरुको अगुवाइमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । विसं २०७३ जेठदेखि माउन्टेन इनर्जी नेपालले निर्माण शुरु गरेको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन शुरु गरेको छ । 

नीलगिरिखोला हाइड्रोपावर लिमिटेडले एकै साथ ३८ मेगावाट क्षमताको नीलगिरि–१ र ७१ मेगावाट क्षमताको नीलगिरि–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रु १३ अर्ब लागत अनुमान गरिएको दुईवटै आयोजना सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको इन्जिनीयर केशव वाग्लेले बताए । 

ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले नारच्याङको बेँसी गाउँको सिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि बाँधसम्म १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरेको छ । 

कम्पनीका प्रतिनिधि होमनाथ पाण्डेले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण शुरु गर्ने तयारी भएको बताउनुभयो । सुपर घलेम्दी हाइड्रोपावर प्रालिले बनाउने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको दुई वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । 

कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । कालीगण्डकी गर्ज लगानीकर्ताको खोजीमा छ । 

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ । 

तयार छ प्रसारण लाइन 

कालीगण्डकी र आसपासका नदीहरुमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा २०७७ माघमा २२० केभी क्षमताको सबस्टेशन बनाएको थियो । 

दानादेखि पर्वतको खुर्कोटसम्म ११० वटा टावर बनाएर ३९.६ किलोमिटर डबल सर्किटको तार तानिएको छ ।

सबस्टेशन र प्रसारण लाइन बनाएपछि भने कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहेका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताए । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया