सात वर्षमा ३९ करोड खर्च, सधैँ बजेट अभाव

२ बर्ष अगाडि

काठमाडौं - पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ ।

नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न हालसम्म रु ३९ करोड ४५ लाख ३४ हजार खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आसपासका १० सहरमध्ये एक नम्बरमा नयाँ सहरका रुपमा विकास गर्ने योजनाका साथ गत आर्थिक वर्ष २०७१/०७२ देखि पूर्वाधार निर्माण भइरहेकामा उक्त परिमाणमा खर्च भएको हो । 

उक्त रकम जग्गा खरिद, सडक, बसपार्क, उद्यान, फोहोर व्यवस्थापन स्थान, भवनलगायतको निर्माणमा खर्च भएको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । आव २०७२/०७३ मा फिदिममा आयोजना कार्यालय स्थापना भएपश्चात १७ किलोमिटर सडकको ट्र्याक कार्य सम्पन्न भएको छ भने ९.९४ किलोमिटर सडक ग्रावेल निर्माण भएको छ । 

यस्तै दुई किलोमिटर सडकको कालोपत्रे तथा १.३२ किलोमिटर सडक ढलान कार्य सम्पन्न भएको नयाँ सहर आयोजना कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिए । गत आवमा ३.४३ सहित हालसम्म कार्यालयले कूल २० किलोमिटर नाला तथा ढल निर्माण कार्य सम्पन्न गरेको छ । कार्यालयका लागि दुई वटा भवन निर्माण पूरा हुनका साथै कार्यालयबाट फिदिम–२ पल्लोटारमा नौ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण  पूरा भएको उनले जानकारी दिए  ।

बहुवर्षीय योजनाका रुपमा कार्यालयले फिदिम–४ गणेशमान उद्यान र फिदिम–१४ मा सुकेपोखरी व्यवस्थापन तथा उद्यान निर्माण थालेको छ । यस्तै व्यवस्थित बसोबास निर्माणका लागि ९९ रोपनी जमिनको जग्गा एकीकरण गर्ने कार्यसमेत पूरा भएको छ । 

फिदिम–२ नेपालटारमा १०८ कित्तामा रहेको एकीकृत जग्गालाई सडक, विद्युत् तथा खानेपानीलगायतका संरचनाले युक्त बनाई जग्गा जग्गाधनीलाई फिर्ता गर्न थालिएको प्रजापतिले जानकारी दिनुभयो । उक्त जग्गा १०० जना जग्गाधनीको हो । 

यहाँ सात कार्यालयको भवन निर्माणका लागिसमेत जग्गा प्राप्त भएको छ । यस्तै ६३ रोपनी क्षेत्रफलमा फैलिएको फिदिम–५ स्थित रङ्गशाला निर्माणका लागि प्रक्रया अगाडि बढाइनुका साथै ५२ रोपनी क्षेत्रफलमा रहेको फोहोर व्यवस्थापन स्थानमा समेत संरचना निर्माण गर्ने कार्यलाई सो कार्यालयले क्रमशः अगाडि बढाएको छ ।

सधैँ बजेट अभाव
सात वर्षदेखि पूर्वाधार निर्माणका कार्य हुँदै आएको भए पनि आयोजनाका लागि सधैँ बजेट अभाव मुख्य समस्या देखिएको छ । नयाँ सहर निर्माणको योजनाअनुसार अहिलेसम्म यहाँ धेरै पूर्वाधार निर्माण भई निजी क्षेत्रको लगानी वृद्धि हुने तथा नयाँ सहरमा बसोबासका लागि आकर्षण बढ्नुपर्ने थियो । तर नयाँ सहरका रुपमा निर्दिष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाट बजारलगायतको निर्माणका कार्य व्यवस्थितरुपमा हुन सकिरहेको छैन । 

यस अतिरिक्त बसोबासलाई व्यवस्थित गर्ने, बसाईं सरी तराईका जिल्ला तथा ठूला सहरमा जानेलाई रोक्न यहाँ आकर्षण गराउन विशेष सुविधाको व्यवस्था गर्नेजस्ता कुनै कार्यक्रम नै बन्न सकेका छैनन् । नयाँ सहरका लागि पूर्वाधार निर्माण गर्ने कार्य विसं २०९० सालमा सम्पन्न गर्ने सरकारी लक्ष्य भएकाले निर्माण थालनी भएको १० वर्षमा समीक्षा हुनेमा आफूहरु आशावादी रहेको प्रजापतिको भनाइ छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया