चार मेगावाट बिजुली थपिँदै, ५ दिनदेखि अन्धकारमा

२ बर्ष अगाडि

काठमाडौं र जिल्लामा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो । 

उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए । उनले भने, “असोज पहिलो सातादेखि नै बिजुली उत्पादन हुन्छ ।” विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थियो । कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएको हो । 

रु ८० करोड ३५ लाखको लागतमा बिजुली उत्पादन भएको प्रबद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावरले जनाएको छ । सो आयोजनामा बैंक अफ काठमाडौँ र कुमारी बैंकको ७५ प्रतिशत ऋण रहेको छ । 

आयोजनाको बाँधस्थलबाट सर्जट्याङसम्म दुई हजार ८७४ मिटर हेडरेस र सर्जट्याङबाट एक हजार ३५६ मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी फालिएको छ । यहाँबाट उत्पादित बिजुली उदिपुर सवस्टेशनमा जोडिने छ ।  

आयोजनाले २०७४ असार २२ गते नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता गरेको थियो । सो सम्झौता अनुसार बर्खायाममा प्रतियुनिट मूल्य चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा तोकिएको छ । 

पाँच दिनदेखि सिमकोट अन्धकारमा
हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनु परेको छ । 

हिल्दु साना जलविद्युत् आयोजनाद्वारा विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्न समेत थप समस्या बनेको छ । यसबाट मोबाइल चार्जदेखि अन्य विद्युत्बाट गरिने कार्य प्रभावित भएका हुन् । सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई दैनिक काममा बाधा पुगेको छ । 

यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेटरबाट टेलिकमका सम्र्पूण सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् । कार्यालयमा रहेका सोला सिस्टमले काम नगर्दा जेनेटरको प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताइएको छ । 

सिमकोटमा रहेका दुई सामुदायिक रेडियोलाई प्रत्यक्ष प्रशारणमा थप समस्या बनाएको छ । सिमकोटमा रहेका सामुदायिक रेडियो कर्णाली आवाज र रेडियो कैलाश एफ एमको नियमित प्रसारणमा विद्युत् आपूर्ति बन्द हुँदा बन्द गर्नु परेको छ । 

दैनिक दश घण्टा सञ्चालन गर्दै आएका जिल्लाका सामुदायिक रेडियोले आफ्नो प्रशारणलाई बाधा पुगेको रेडियो कर्णाली आवाजका निमित्त इस्टेशन इन्चार्ज सुरेश परियारले जानकारी दिए ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया