रासायनिक मलकाे अभाव : अक्टोबरसम्म ७० हजार मेट्रिकटन आइसक्ने

२ बर्ष अगाडि

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले अर्को महिनासम्म ७० हजार मेट्रिकटन रासायनिक मल आउने जानकारी दिएको छ । प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको छलफलमा सचिव आचार्यले यस्तो जानकारी दिएका हुन् । 

बजारमा रासायनिक मलको अभाव भएपछि कृषि समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा सोमबार सिंहदरबारमा  छलफल गरेको हो । छलफलमा मन्त्रालयका सचिव आचार्यले रासायनिक मलको मूल्य धेरै बढिरहेकोले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने बताए । सचिव आचार्यले भारतसँग मल खरिदसम्बन्धी गरिएको सम्झौता अनुसार मल आयात भए मलको संकट कम हुने बताए । 

‘कहिलेकाहीँ नाकाको समस्याले मल खरिद गर्न समस्या परिरहेका छ, हामीलाई प्राप्त पछिल्लो जानकारीअनुसार युरिया १० हजार मेट्रिकटन २० सेप्टेम्बरमा आउँदैछ भने सेप्टेम्बरको अन्तिमसम्ममा डिएपी ५ हजार मेट्रिकटन उत्तरी नाकाबाट आउँदैछ, २० हजार मेट्रिकटन युरिया आउने क्रममा छ, त्यस्तै २५ हजार मेट्रिकटन १५ अक्टोबरमा आउनेछ’, उनले भने, ‘योसहित ७० हजार मेट्रिकटन मल अक्टोबरसम्म नेपालमा आउने अवस्थामा छ, पछिल्लो बजेटबाट ३ लाख मेट्रिकटन मल किन्ने भनिएको छ, अहिले मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको छ ।’

समितिको बैठकमा सांसदहरुले खरिद प्रक्रियामा सहजीकरण गर्नुपर्ने र सार्वजनिक खरिद ऐनले यसमा अफ्ठ्यारो पारिरहेको बताएका थिए ।  बैठकमा रासायनिक मलको तत्कालीन समस्या कसरी हल गर्ने र यसबारेमा नीति, योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए । 

२ बर्ष अगाडि

प्रतिक्रिया