नेपाल–बेलायतको आर्थिक सम्बन्ध विस्तार हुन नसकेकोले भिसा सहज बनाउन माग

२ बर्ष अगाडि

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । 

बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ । 

महासंघले मंगलबार काठमाडौँस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियामा उनले काठमाडौँस्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए ।

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए । नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ । 

सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा एक दशमलव सात प्रतिशत र आयातमा बेलायतको हिस्सा शून्य दशमलव १६ प्रतिशत मात्र रहेको जानकारी दिए । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया