च्याम्पियन्स लिग : आफ्नै घरेलु मैदानमा बार्सिलोनाको लज्जास्पद हार, रोनाल्डोको गोलको बावजुत म्यानचेस्टर युनाइटेड पराजित

२ बर्ष अगाडि

एजेन्सी - च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा नै आफ्नै घरेलु मैदानमा बार्सिलोना पराजित भएको छ ।  थोमस मुलर र रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले बायर्न म्युनिखले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको हो । 

समूह ई अन्तरगत दुई हेभिवेटबीचको खेलमा जर्मन क्लब ३–० ले विजयी भएको छ । खेलमा नियन्त्रण बनाएको बायर्नले खेलको ३४ औँ मिनेटमा मुलरको गोलको मद्दतले अग्रता लियो । 

बार्सिलोनाविरुद्ध उनको यो सातौँ गोल थियो । प्रतियोगितामा बार्सिलोनाविरुद्ध उनले सबैभन्दा धेरै गोल गरेका छन् । दोस्रो हाफमा लेवान्डोस्कीले दुई गोल थप्दै बायर्नलाई सहज जीत दिलाए । च्याम्पियन्स लिगमा उनको ७५ गोल पुगिसकेको छ ।

यस्तै  क्रिस्टियानो रोनाल्डो प्रेरित प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड स्विस टिम योङ ब्वाइजसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा स्विस टोली योङ ब्वाइजसँग युनाइटेड २–१ गोल अन्तरले पराजित भएको हो । 

खेलमा १० खेलाडीमा सीमित युनाइटेडले स्वीजरल्यान्डको क्लबसँग २–१ गोलले पराजित भएको हो । खेलमा अग्रता भने युनाइटेडले बनाएको थियो । खेलको १३औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै प्रिमियर लिग क्लबलाई अग्रता दिलाएका थिए । 

खेलको ३५औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । युनाइटेडका वान विसाखा रातो कार्ड खाँदै बाहिरिएका थिए । पहिलो हाफमा अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा अग्रता जोगाउन सफल भएन । 

योङ ब्वाइजका लागि खेलको ६६औँ मिनेटमा मोउमी नगमाउलेले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा योङ ब्वाइजका लागि थेसोन सिवाचुले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । 

जितसँगै समूह ‘एफ’मा रहेको योङ ब्वाइजले १ खेलबाट ३ अंक जोडेको छ । यता युनाइटेडले हारबाट लिगको सुरुवात गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया