ताप्लेजुङका भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

२ बर्ष अगाडि

काठमाडौं - कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । 

भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । 

उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा परेका थिए । त्यस्तै उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जुन प्रस्तुतीबाट निकै तारिफ पाएका थिए । उनी ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बनेका थिए ।

भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए । ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए । 

विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया