एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, चर्कियो जबजको बहस

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा सोमबार दिउँसो १ बजे बस्दै छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा आइतबार प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल जारी छ । उक्त तीन वटै प्रस्तावमाथि उपमहासचिव तथा तेस्रो धारका नेता घनश्याम भुसालले लिखित टिप्पणी राखेका छन् । 

माधव नेपालको साथ छोडेर आएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, अमृत बोहोरा र रघुजी पन्तलाई एमालेभित्र तेस्रो धारका नेताका रुपमा लिइन्छ ।

साथै एमालेमा फेरि एकपटक जनताको बहुदलीय जनवाद ९जबज० बारे बहस सुरु भएको छ । पार्टीको प्रथम विधान महाधिवेशनको तयारीका लागि बसेको स्थायी समितिको बैठकमा उपमहासचिव घनश्याम भुसालले जबजबारे थप छलफल गर्दै यसको व्याख्या गर्नुपर्ने माग राखेपछि यो बहस पुनः चर्किएको हो ।

विधान महाधिवेशनका लागि प्रस्तुत गरिएको कार्यक्रमिक तथा सङ्गठनात्मक प्रस्तावमाथि भुसालले बुँदागत टिप्पणी प्रस्तुत गर्दै जबजले उल्लेख गरेभन्दा धेरै विषय पार्टीले अभ्यास गरिसकेको बताउँदै अब पनि जबजले कार्यक्रमका रूपमा पार्टीलाई मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुने बताएका छन् । 

‘मदन भण्डारीले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नु पर्छ भन्नु भयो । ती १४ विशेषता हामीले अभ्यास नै गरिसकेका छौँ । वास्तवमा जनताको बहुदलीय जनवादले उल्लेख गरेभन्दा धेरै विषय हामीले अभ्यास गरिसकेका छौँ,’ भुसालको भनाइ छ ।

यदि सिद्धान्तको रूपमा यसले पार्टीलाई मार्गदर्शन गर्छ भन्ने नै हो भने आफूले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको ‘लोकतान्त्रिक बाटोबाट श्रमजीवी वर्गको पक्षमा समाजको रूपान्तरण’ भन्ने परिभाषाका आधारमा जबजको व्याख्या गर्नुपर्ने उनको टिप्पणी छ । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया