इँटा व्यवसायीको पिडा जग्गा बेच्दै ऋण तिर्दै

२ बर्ष अगाडि

काठमाडौं - मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८  उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए ।

जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार÷पाँच  उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन् । अन्य उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताइएको छ । महामारीका कारण एउटा उद्योगले रु दुई करोड हाराहारी नोक्सान बेहोर्नुपरेको उनको भनाइ छ ।

कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो । यस वर्ष कोइलाको मूल्यमा झण्डै दोब्बर वृद्धि भएको छ । सरकारले कोभिडबाट पूर्णरुपमा प्रभावित भएका इँटा उद्योगलाई ऋणको ब्याजमा अनुदान नदिएको उनले गुनासो गरे । 

खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित उद्योग सञ्चालन गर्न नसक्ने भए पछि उद्योगको नामको जग्गानै बेचेर ऋण तिर्न लागेको जानकारी दिए । उनले भन्नुभयो, “ऋण तिर्न सकिएन अब जग्गा बेच्दै छौं । यो पेसाबाट विस्थापित हुन आएको छ । धेरैको अवस्था आफ्नो उद्योगको जस्तै भएको छ ।”  

इँटा व्यवसायी विनोदकुमार श्रेष्ठले गत वर्षदेखि ३५ वर्ष पुरानो श्री इँटा उद्योग चलाउन सकेका छैनन् । उनले गुनासो गरे, “कच्चापदार्थनै महँगिएको छ, लगानी उठाउने अवस्थै रहेन विस्थापितनै बन्नुपर्यो ।” गत वर्ष आंशिकरुपमा चलेको मनकामना इँटा उद्योगका सञ्चालक पुष्पकुमार पिया यस वर्ष अन्यौलमा हुनुहुन्छ  । 

गत वर्ष मुस्किलले उत्पादन गरेको १०  प्रतिशत इँटा बिक्री भएको उनले गुनासो गरे । पूर्वतिरबाट सस्तो मूल्यका इँटा आउन थालेपछि जिल्लाका गुणस्तरीय इँटा खपत हुन नसकेको व्यवसायीको भनाइ छ । काँँचो इँटा पानीले बिगार्दा कुनै क्षतिपूर्ति नपाइने र बीमा पनि नभएको व्यवसायी बताउँछन् । 

इँटाका लागि गिट्टी, बालुवा नमिसिएको चिम्टाइलो माटो चाहिन्छ । कात्तिकदेखि वैशाखसम्म बनाउने र पकाउने काम हुन्छ । इँटा पकाउन अत्याधुनिक प्रविधिमा लगानी गरेका व्यवसायी पलायनका स्थितिमा पुगेका हुन ।

जिल्लाका उद्योगमा एक वर्षमा आठ हजारले रोजगार पाउने गरेको सङ्घले जनाएको छ । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले एउटा उद्योग सञ्चालन गर्न रु तीन करोडभन्दा बढी लगानी हुने जानकारी दिए । 

नेपालमा एक हजार ३०० इँटा उद्योग रहेका छन् । तीमध्ये ४० प्रतिशत बन्द हुने अवस्थामा रहेको बताइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया