नेपालमा पहिलोपटक दुर्लभ प्रजातिका नयाँ चरा भेटिएपछि.....

२ बर्ष अगाडि

काठमाडौं - नेपालमा पहिलोपटक दुर्लभ प्रजाति नयाँ चरा भेटिएको छ । नेपालका लागि उपल्लो मुस्ताङमा ‘ठेउवा’ प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ । 

‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’ नाम गरेको सो प्रजाति नेपालमै पहिलोपटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो । धार्मिक कला, संस्कृति र मौलिकताले भरिएको उपल्लो मुस्ताङको पर्यटकीय गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघि सो प्रजातिको चराका तस्बिर कैद गरेका थिए ।

पर्यटनकर्मी गुरुङले कैद गरेका तस्बिरहरू सुरुआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आकलन गरिए पनि सो तस्बिरको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’ जोमसोम-लोमान्थाङका कार्यालय प्रमुख एवं संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो । 

उनी उक्त प्रजातिको चरा ‘युरोपियन रोलर’ नै हो भन्ने विश्वस्त भए । चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका चरा विज्ञहरूलाई चराको विभिन्न तस्बिर पठाइयो । बेलायती चराविद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चराविद्हरू डा। हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्यलगायतले चरा ‘युरोपियन रोलर’ नै भएको र हालसम्म नेपालमा अभिलेख नभएको बताएका छन् । 

थप नयाँ प्रजाति मुस्ताङमा भेटिएसँगै अन्नपूर्ण क्षेत्रमा पाइने चराको संख्या पाँच सय १९ पुगेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया