तीन वर्षमा फर्नेश आयल पाँच अर्बको आयात, थोत्रा टायर तथा ट्युबको भारततर्फ तस्करी

२ बर्ष अगाडि

काठमाडौ - विगत तीन वर्षमा फर्नेश आयल मात्रै करिब पाँच अर्बका दरले आयात भएको छ भने अहिले यसको आयात वार्षिक झन्डै १० अर्ब पुगेको छ । आयातित फर्नेश आयलसँग स्वदेशमा उत्पादित तेलले प्रतिस्पर्धा गर्ने गरी राज्यले संरक्षणको नीति लिए मात्रै व्यापार घाटा कम हुने र स्वदेशी उद्योग फस्टाउने द्योगी अजयमान श्रेष्ठको भनाइ छ ।

रूपन्देहीको देवदह(४ मा रहेको ‘स्पिड इनर्जी इन्डस्ट्रिज’ पाँच करोड लगानीमा २०७१ सालमा स्थापना भएको हो । यो उद्योगले दुईपांग्रे र चारपांग्रे सवारीसाधनका टायर, ट्युब तथा रबर प्रशोधन गरी फर्नेश तेल, कार्बन ब्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको छ । दुईवटा प्लान्ट सञ्चालनमा ल्याएको उद्योगको लगानी अहिले १६ करोड पुगेको छ । 

साढे दुई बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगबाट उत्पादन हुने फर्नेश तेल र स्टिल स्क्र्याब नेपालकै सिमेन्ट, छड, बिस्कुट, ब्याट्री आदि उद्योगमा खपत भइरहेको छ । कार्बन धूलो इँटा उद्योगहरूमा कोइलाको विकल्पमा प्रयोग हुने गरेको छ । कार्बनलाई भारतमा समेत निर्यात गर्दै आएको उद्योगले जनाएको छ ।

श्रेष्ठले खेर गएका टायर ट्युबलाई राजस्वको दायरामा ल्याएका छन् भने अर्कोतर्फ बिना बिल खरिद गरिएका त्यस्ता वस्तुबाट उत्पादन हुने तेल ठूलो रकम राजस्व तिरेर बिक्री गरिरहेका छन् । 
उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहे पनि अहिले भने चार हजार लिटरको हाराहारीमा मात्रै उत्पादन भइरहेको उद्योगी श्रेष्ठले बताए ।

फालिएका थोत्रा टायर तथा ट्युबको भारततर्फ तस्करी अर्को समस्या बनेको छ । यसले फर्नेश आयल उत्पादन गर्ने उद्योगमा कच्चा पदार्थको अभाव भएको छ । रूपन्देहीमा रहेका दुईवटा उद्योगमध्ये एउटा पूर्णरूपमा बन्द भएको छ । जिल्लाको सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग गत फागुनदेखि बन्द  छ । यस्ता उद्योग धनगढी, विराटनगर र वीरगन्जमा एक–एकवटा छन् । नेपालमा खपत हुने फर्नेश आयलमध्ये स्वदेशी उद्योगको उत्पादन तीन प्रतिशत मात्र छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया