काठमाडौं- सेयर बजार घट्नेक्रमले सोमबार पनि निरन्तरता दिएको छ ।
विशेषगरी बजारमा नयाँ प्रवेश गरेका र बजार बेस्सरी घटेको नदेखेका लगानीकर्ताहरु बढी पेनिक भएका छन् । उनीहरुले त्रसित भएर सेयर बेच्दा बजार घट्नेक्रम नरोकिएको ब्रोकरहरु बताउँछन् । तर कम्पनीहरुको भाउ निकै तल्लो विन्दुमा आइसकेकाले अब क्रेताहरु हावी हुने पनि उनीहरुको दाबी छ । अर्थमन्त्रीले हालै एक कार्यक्रममा दिएको नकारात्मक अभिव्यक्तिले पनि बजारलाई असर गरेको कतिपयको भनाई छ । उनले सेयर बजारको नाम नलिई हावा भरिएको भनेर टिप्पणी गरेका थिए ।
यसबाहेक तरलता संकुचन हुनु, सोही निहुँमा बैंकहरुले ब्याजदर वृद्धि गरिनुले बजारमा नकारात्मक असर परेको हो । यसअघि बजेट पारित हुन नसक्दा सरकारको खर्च नै रोकिएको थियो । स्थानीय निकायमा समेत पैसा जान सकेको थिएन । तर प्रतिपक्षको विरोधका बाबजुत पनि सोमबार प्रतिनिधि सभाबाट बजेट पारित भएको छ । राष्ट्रिय सभाबाट पनि बजेट अनुमोदन भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला हुनेछ ।
अब सरकारी ढुकुटीको पैसा बजार तथा वित्तीय प्रणालीमा आउन थाल्नेछ । स्थानीय निकायमा पनि पैसाको आपूर्ति बढ्नेछ । यसबाट बैंकिङ प्रणालीमा तरलता सहज हुने विश्वास गरिएको छ । यस्तै, दसैंतिहारमा रेमिटेन्स भित्रिनेक्रम बढ्नेछ । सर्वसाधारणले पनि यस बेला बढी खर्च गर्ने भएकाले बजारमा पैसाको आपूर्ति बढ्नेछ । यी परिदृश्यहरुमा फेरि अर्को महिनादेखि ब्याजदर पनि सहज हुँदै जाने विश्लेषणहरु भइरहेका छन् । अहिलेको ब्यादजर वृद्धि अल्पकालीन हुने विश्लेषकहरु बताउँछन् ।
नेप्सेको पछिल्लो घटाइले सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान कमजोर भएको छ । तर छोटो समयमा बजार बेस्सरी घटिसकेको छ । करिब ५ सय अंकको गिरावट आइसकेकाले राम्रा कम्पनी छानेर विस्तारै सेयर खरिद गर्न कतिपय विश्लेषकहरुले सुझाव दिने गरेका छन् । सेयर बजार सधैं घट्ने वा बढ्ने मात्र गर्दैन । घटबढ बजारको नियम हो । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ ।
लाभांशको समय चलिरहेको छ । अहिले सेयर होल्ड गर्न सके अब केही समयभित्रै लाभांश हात पार्न सकिनेछ । यसर्थ, आम लगानीकर्ता यस्तो बेलामा पेनिक हुनु हुँदैन । आफ्नो होल्ड गर्न सक्ने क्षमता समेत अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन जरुरी हुन्छ । सेयर बजारमा यस्ता घटनाहरु भइरहन्छन् । आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्नुपर्छ । जोखिम बहन क्षमतालाई ख्याल गर्नुपर्छ ।
कम्पनीको नाफा, रिजर्भ, इपीएस, व्यवसाय विस्तारको सम्भावना लगायतलाई ध्यान दिन आवश्यक छ ।
प्रतिक्रिया