प्रतिनिधीसभाबाट विधेयक पारित भएपनि बजेट खर्च गर्ने बाटो खुलेन

२ बर्ष अगाडि

प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक पारित भएपनि बजेट खर्च गर्ने बाटो खुल्न भने समय लाग्ने भएको छ । 

प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र लागू हुने संवैधानिक व्यवस्था भएकोले बजेट खर्च गर्ने बाटो खुल्न भने समय लाग्ने भएको हो । 

अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमाथि गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । तर एमालेले संसदमा अबरोध गरेका कारण पारित हुन नसकेपछि असोज ४ गतेसम्मका लागि संसद बैठक स्थगीत गरिएको थियो । 

भदौ ३० गतेसम्ममा सरकारले प्रतिस्थापन विधेयक संसदबाट पारित गर्न नसक्दा नेपालमा गभर्मेण्ट सट डाउन (बजेटविहीनता) को अवस्था सृजना भएको छ । 

आज प्रतिनिधिसभाले प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच विनियोजन विधेयक पारित गरेको भएपनि अहिले एउटा सदनबाट मात्र पारित हुँदा बजेट खर्च गर्ने बाटो भने खुलिसकेको छैन । 

पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ । राष्ट्रिय सभाबाट विधेयक पारित हुन नियम निलम्बन नगरे मन्त्रालयगत छलफलका लागि ३ दिन र निलम्बन गरे २४ घण्टा लाग्नेछ । राष्ट्रिय सभाले नियम निलम्बन गरे एक दिनमै विधेयक पारित गरेर फेरि प्रतिनिधि सभामा प्रमाणीकरणका लागि आउने छ ।

राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभाले स्वीकार गरेर सभामुखले प्रमाणित गरेर राष्ट्रपति समक्ष पठाउनुपर्ने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बल्ल बजेट कार्यान्वयनमा जाने छ । त्यसरी राष्ट्रियसभाले छिटो प्रक्रिया अपनाएर पास गरेपनि बजेट प्रमाणीकरण हुन ३ दिनदेखि ५ दिने समय लाग्न सक्ने बताइएको छ । 

विनियोजन ऐन प्रमाणिकरण नहुँदासम्म खर्च नगर्न नमिल्ने महालेखा नियन्त्रक सुमनराज अर्यालले बताए ।

यद्यपी सोमबार संशोधित प्रतिस्थापन विधेयक भदौ ३१ गतेदेखि नै लागू हुने प्रस्तावसमेत बहुमतले पारित भएकाले सरकारले उधारोका रुपमा खर्च चलाउन भने सक्ने छ । 

अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलेले पेश गरेको बजेट विनीयोजन अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्रको ऋण उठाउने अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि अर्थमन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक संसदमा प्रस्तुत गरेका थिए । आज प्रतिनिधिसभाले विनियोजन विधेयक पास गरेपनि आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक माथिको दफावार छलफलका लागि असोज ७ गतेको म्याद तोकिएको छ ।  विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित भएर आयपश्चात प्रतिनिधसभाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने व्यवस्था छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया