२१ पटक प्रतिस्पर्धा गर्दा २ पटक जित, इतिहास दोहोर्‍याउने दाउमा नेपाल

२ बर्ष अगाडि

काठमाडौं - साफ च्याम्पियनसिप फुटबलमा नेपाल आज भारतसँग खेल्दैछ । साफ च्याम्पियनिसिपको सर्वाधिक ७ पटकको च्याम्पियन बन्न सफल भारत र अहिलेसम्म उपाधि जित्न नसकेको नेपालबीच आज माल्दिभ्समा खेल हुने भएको हो ।

नेपाल र भारत दुबैका लागि निकै महत्त्वपूर्ण रहेको आजको खेलमा दबाब भने भारतलाई हुने छ । यसअघिका दुई खेलबाट छ अंकका साथ शिर्ष स्थानमा रहेको नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यमा रहँदा भारत भन् जित्नैपर्ने दबाबमा हुनेछ । 

भारतले यसअघिका दुबै खेलमा बराबरी खेलेको छ । त्यसैले भारत तेस्रो खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

आजको खेल जिते नेपाल एक खेल अघि नै प्रतियोगिताको फाइनल पुग्नेछ । यसो हुन सके त्यो नेपालका लागि अहिलेसम्मकै ठूलो सफलता हुनेछ । आज बराबरी खेलेको अवस्थामा पनि नेपालको फाइनल प्रवेश सहज त बन्नेछ तर त्यसमा बाँकी रहेको बंगलादेशसँगको खेलको नतिजा महत्वपूर्ण हुनेछ ।

सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा भारत माथि जित निकाल्दै ऐतिहासिक रूपमा सेमिफाइनल नेपाल प्रवेश गरेको थियो । साफ च्याम्पियनसिपको इतिहासमा नेपालको त्यो भारतमाथिको पहिलो जित थियो भने समग्रमा दोस्रो जित ।

त्यसयताका ८ वर्षमा फेरी नेपालले उक्त इतिहास दोहोर्‍याउन सकेको छैन । त्यसैले यो पटक ८ वर्षपछि नेपाल भारतलाई पराजित गर्ने लक्ष्यमा छ । तत्कालीन समयमा नेपाल समूह ए मा बंगलादेश र पाकिस्तान सँगै भारतसँग परेको थियो ।

नेपाल र भारतले अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा अधिकांश खेल दक्षिण एसियाली फुटबल प्रतियोगितामा नै हो । नेपाल र भारतले यसअघि ६ पटक त साफ च्याम्पियनसिपमा मात्रै प्रतिस्पर्धा गरेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया