आगामी महाधिवेशनमा पनि केपी  शर्मा ओलीलाई नै पार्टी अध्यक्षमा निरन्तरता दिने

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन् ।

महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनु पर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी  शर्मा ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन् ।

बडा दशैं, तिहार, नेपाल सम्वत र छठको अवसर पारेर आइतबार सञ्चारकर्मीसँग आयोजना  गरेको शुभकामना आदान/प्रदान कार्यक्रममा बोल्दै उनले सत्तारूढ गठबन्धनले नेतृत्व गरेको अर्को ध्रुवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको  उक्त ध्रुवलाई बलियो बनाउन जरूरी रहेको तर्कसमेत गरे । 

महासचिव पोखरेलले आफूले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणासमेत गरे । विधानमा पनि २ पटक भन्दा बढी एउटै पदमा उठ्न नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उनको भनाइ थियो ।

महासचिव पोखरेलले आफूलगायतका पार्टीको लिडिङ रोलमा रहेका नेताहरू इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसाबले पार्टी नेतृत्वका लागि स्वभाविक दाबेदार भएको पनि दोहोर्‍याए ।

महासचिव पोखरेलले आगामी मंसिरको दोस्रो साता पार्टीको दशौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने बताए । उनले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पारे । त्यसका लागि कांग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा भने आफूहरू उनले बताए ।

२ बर्ष अगाडि

प्रतिक्रिया