चार बैंकद्धारा साधारण सभा आह्वान, कुनको कहिले ?

२ बर्ष अगाडि

काठमाडौं - विभिन्न चार वाटा बैंकहरुले साधारण सभा बोलाएका छन् ।  कामना सेवा विकास बैंक, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना वार्षिक साधारण सभा बोलाएका हुन् । 


१. कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले कात्तिक २३ गते १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज २५ गते, सोमबार सम्पन्न सञ्चालक समितिको ३१६ औं बैठकले पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ, काठमाडौँमा बिहान १० बजे १५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले बैंक सञ्चालक समितिको असोज ७ गते, बिहीबारको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट ३ जना गरि संचालक समितिमा ६ जना निर्वाचन गर्नेछ । सभाले बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

२. कुमारी बैंक
कुमारी बैंकले पनि साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको असोज २५ गते सम्पन्न बैठकले कात्तिक १६ गते मंगलबार २१ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा बैंकको केन्द्रीय कार्यालय नक्सालमा बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट बोलाइएको छ । सभामा भाग लिने शेयरधनीका लागि जुम मिटिङ आइडि र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश साधारण सभाबाट पारित गरिने एजेडा छ । यस्तै बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, कम्पनी ऐनले निर्धारण गरेभन्दा संस्थागत सामाजिक उत्तरदायित्व वापत बढी खर्च भएको अनुमोदन गर्ने प्रस्ताव साधारण सभामा रहेको छ ।

बैंकले साधारण सभाबाट कुमारी बैंक र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति र सो समितिले गरेको कार्य अनुमोदन गर्न, डिडिए गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव साधारण सभामा पेश हुँदैछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ८ गते सोमबार एकदिनका लागि शेयर दाखिल खारेजी (बुक क्लोज) गर्ने मिति तोकेको छ । यसअनुसार कात्तिक ७ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई बैंकको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीधरुले मात्रै बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
आक्रमकभन्दा शालिन बैंकिङ्गलाई अगाडि बढाइरहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले थप मर्जर तथा प्राप्ती प्रकृया अगाडि बढाउने भएको छ ।  बैंकले कात्तिक १६ गते आह्वान गरेको साधारण सभाको विशेष प्रस्तावमा लाभांश अनुमोदनका साथै मर्जर तथा प्राप्ती समेत राखिएको छ ।

असोज २५ गते बसेको सञ्चालक समितिको ३८० औं बैठकले आह्वान गरेको साधारण सभाको विशेष प्रस्तावको दोस्रो विशेष प्रस्तावमा मर्जरको एजेण्डा राखिएको छ । जसमा सिटिजन्स र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न तथा आवश्यक प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ ।

ग्रामीण स्तथरमा समेत बैंकिङ्ग सेवा पुर्याउने उदेश्यका साथ बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्ती गर्ने प्रकृया अगाडि बढाइरहेको अवस्था छ । बैंकले सहयोगि विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्सलाई प्राप्ती गरिसकेको छ ।

यस्तै वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको डिडिए गर्न राष्ट्रि वा अन्तराष्ट्रिय मूल्याङ्कनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । सभाले सञ्चालक समितिले गत आवबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस र कर प्रयोजन सहित ३.०८७ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

४. सांग्रिला डेभलपमेन्ट बैंक 
सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते साधारण सभा बोलाएको छ । यससँगै विकास बैंकमध्ये सांग्रिला गत आवको वार्षिक साधारण सभा डाक्ने पहिलो बैंक बनेको छ । बैंकको असोज २५ गते सम्पन्न सञ्चालक समितिको २७८ औं बैठकले कार्तिक १६ गते बैंकको १७ औं वार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो ।

बैंकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको हो । सभाले सञ्चाल समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ । दश प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड ६ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

यस्तै उपयुक्त अन्य बैंक वित्तीय संस्थालाई प्राप्ति तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको हाल कायम अधिकृत पूँजी वृद्धि गरी ३ अर्बबाट बढाएर ५ अर्ब पुर्याउने प्रस्तावउपर छलफल गरी पारित गर्नेछ । यसैगरी बैंकको प्रबन्धपत्र नियमावलीमा आवश्यक संसोधन उपर नियमनकारी निकायबाट केही संसोधन, परिमार्जन वा थपघट गर्न निर्देशन आएमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, बाँकी अवकिा लागि गरिएको सञ्चालक नियुक्ती अनुमोदन, लगायतका एजेन्डाहरु साधारण सभामा लैजाने भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म शेयर दाखिल खारेजी ९बुकक्लोज० को मिति तोकेको छ । यसअनुसार कात्तिक ४ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्नेछन् ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया