सडक दुर्घटना :   कर्णालीमा मात्रै  तीन वर्षमा ६ सय बढीको मृत्यु

२ बर्ष अगाडि

वर्षौंदेखि यातायातबाट विमुख कर्णालीबासीका लागि (अझ साविक कर्णाली) २०६३ सालदेखि सञ्चालमा आएको कर्णाली राजमार्गले गौरव महसुस गरायो । विस्तारै अन्य, राजमार्गहरुपनि निर्माण भए सञ्चालमा आए । विशेषगरी कर्णाली राजमार्ग यहाँको आर्थिक समृद्धीको मार्ग र सुर्खेत देखि जुम्ला, मुगुतर्फ जोड्ने राजमार्ग भएकाले त्यतिबेला कर्णालीबासीको मुहारमा आशाको दियो पलायो ।

तर २०६६ चैत ५ गते दैलेखको किट्टु भीरमा भएको भयानक बस दुर्घटनामा परी ४१ जनाले ज्यान गुमाए । कालिकोटबाट सुर्खेत फर्कदै गरेको काँक्रेविहार यातायातको ना.३ ख ५८६८ नम्बरको यात्रुवाहक बस सडकबाट चट्टानमा ठोक्किएर कर्णाली नदीमा खसेको थियो । मुलुकै लागि कहालीलाग्दो उक्त दुर्घटनाले गाडी चढेर सहजताका साथ आवतजावत गर्ने र आर्थिक समृद्धिमा पुग्ने कर्णालीबासीलाई नराम्रो चिन्तामा डुवायो । 

सामान्यतया सडकयात्रा सहज र छिटो गन्तव्यमा पुग्नका लागि गर्ने गरिन्छ । तर, कर्णालीको अवस्था ठीक उल्टो छ । कसैले यात्रा गर्नुपर्ने परे ‘मन दह्रो’ बनाएर यात्रा गर्नुपर्ने हुन्छ । त्यसैले कर्णालीका राजमार्ग ‘मृत्युमार्ग’ का नामले चिनिन्छन् । पहाडी भू–भाग, साँघुरा र कच्ची सडकका कारण वर्षेनी कर्णालीवासीले आफ्नो जीवनको यात्रा समाप्त पारिरहेका छन् ।  

विगतका केही तथ्याङ्कलाई हर्ने हो भने २०७१ पहिला कर्णाली राजमार्गमा मात्र १५९ वटा दुर्घटना भएका छन् जसमा २०९ जनाको ज्यान गएको छ ।

त्यसयता दुर्घटनाको अबस्था झन डरलाग्दो गरी बढ्यो । ०७४ सालमा दैलेखको आठवीस नगरपालिका अन्तर्गत भेल्तडीमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।  २०७१ सालमा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दुधे बालक सहित १८ जनाको ज्यान गयो । उक्त, बस सडकभन्दा तल २ सय मिटर तिला नदीमा खसेको थियो । 

बीचमा धेरै दुर्घटना भए । सडक सुधारका लागि आवाज उठे । केही पहल पनि भए । अब त दुर्घटनामा ज्यान गुमाउनु पर्दैैनकी भनेर कर्णालीबासीले आशा गरेर बसे । तर दशैंको मुखमा मंगलबार कर्णालीमा अर्को एक अकल्पनीय घटना घट्यो । जसले दसैँको यो पर्वलाई स्तब्ध बनाएको छ ।  नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा प–यो । उक्त, दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाए । 

प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरे पनि यो घटनाको विस्तृत रिपोर्ट भने आउन बाँकी छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार रहेका थिए । 

तथ्याङ्क हेर्दा तीन आर्थिक वर्षमा मात्र सवारी दुर्घटनामा परी कर्णालीका ५ सय ९१ जनाले ९ मुगु घटनाबाहेक० ज्यान गुमाएका छन् । मंगलबारको घटनासँगै यो सँख्या ६ सय २० नाघेको छ । 

आर्थिक वर्ष ०७६/७७ मा २३३, ०७७/७८ मा २९१ र चालु आर्थिक वर्षको हालसम्म ६४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । यी अधिकांश घटनाहरू धेरै जसो कर्णाली राजमार्ग लगायत यसका सहायक मार्गहरूमा हुने गरेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ पहाडी जिल्लामा सडक दुर्घटनामा धेरैको ज्यान जानु समयमा उपचार नपाउनु, समयमा उद्धार नहुनु जस्ता समस्या बताउँछन् ।

सडकको दुरावस्थाले दैनिकजसो मान्छेले ज्यान गुमाउनुपरिरहेको छ । सडक पुगेपनि, गाडी गुडेपनि यहाँका नागरिकहरुको मन रमाउन सकिरहेको छैन् । 

कर्णालीमा पहाडी भू–भाग छ । साँधुरा एकसरा सडक छन् । अझ सवारी साधनहरुले मनपरी तरिकाले यात्रु कोच्ने गर्दछन् । बसमा भित्रमात्र होइन, छतमा पनि खुट्टा टेक्ने ठाउँ हुँदैन । निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीसँग छ । सार्वजनिक यातायातमा मात्र होइन, मालवाहक ट्रकसमेत खाली हुँदैनन् । अझ, हिजोआज हाईस र साना सवारी साधनहरु धेरै दुर्घटनामा पर्ने गरेका छन् । 

सुर्खेतका यातायात व्यवसायी भुपेन्द्र शाही दुर्घटना कम गर्न सडक चौडा नै पहिलो आवाश्यकता रहेको बताउँछन् । ‘यसमा चालकको लापरबाहीले पनि सडक दुर्घटना बढ्ने गरेको देखिन्छ,’ उनी भन्छन्,‘तर सडकको स्थिति नै कहालीलाग्दो छ।’ साँघुरो बाटो, मर्मत–सुधारको अभाव, अत्यधिक घुम्ती र पुराना गाडी तथा चालकको लापरबाहीजस्ता कारणले धेरै दुर्घटना हुने गरेको प्रहरीको पनि भनाइ छ । रातोपाटीबाट

२ बर्ष अगाडि

प्रतिक्रिया