बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु, मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

२ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ । 

ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरिएको हो ।  वि.सं २०६३ मा यो सडकको ट्र्याक खुलेको थियो ।

त्यसैगरी हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ । जिसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको सो सडकको स्तरोन्नति कार्य ढिला भएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए । 

सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मी र थामडाँडामा सय मी नयाँ ट्र्याक खोलिएको छ ।

मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध
गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो । मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए । 

उनले  मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याउने बताउनुभयो । यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिएका छन् । 

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताएका छन् । असार १ र साउन १६ गते आएको बाढीका कारण  सडक सञ्जाल टुटेका विभिन्न ठाउँमा ह्युम पाइप राखी सडक सञ्चालनमा ल्याइएको थियो ।

    

२ बर्ष अगाडि

प्रतिक्रिया