साफ च्याम्पियनसिप उपविजेता बनेका नेपाली राष्ट्रिय टोली काठमाडौं आइपुगे, भव्य स्वागत

२ बर्ष अगाडि

काठमाडौं - साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेका छन् । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान साढे १० बजे काठमाडौंमा अवतरण गरेको हो ।

नेपाली फुटबल टोलीलाई विमानस्थलमा बाजागाजा सहित स्वागत गरिएको थियो । उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज पनि विमानस्थल पुगेका थिए । 

माल्दिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० ले पराजित भएपछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधिबाट वञ्चित भएको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया