२० जिल्ला पूर्ण रुपमा अन्धकार, प्रदेश १ मा मात्रै १४ जिल्ला

२ बर्ष अगाडि

सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण २० जिल्लामा बिजुली अबरुद्ध भएको छ । बिजुली आपूर्ति हुन नसक्दा ती जिल्लाका नागरिकहरु उज्यालोका लागि टुकी बाल्न बाध्य भएका छन् ।

कोशी र मेची अञ्चलमा बिजुली सप्लाई पूर्ण रुपमा अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए । बिजुली अवरुद्ध हुँदा पूर्वी नेपालका मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङा, खोटाङ, उदयपुरमा बिजुली अबरुद्ध भएको बताएका छन् । 

प्रदेश नं १ का १४ जिल्लाहरुमा पूर्ण रुपमा ब्ल्याक आउट भएका छन् ।यसैगरी, महाकाली अञ्चलको डडेलधुरा, बैतडी र दार्चुलामा बिजुली सप्लाई बन्द भएको जानकारी पनि उनले दिए । त्यस्तै, सेती अञ्चलको डोटी, बझाङ र बाजुरा प्रसारणलाईनमा क्षति पुग्दा बिजुली अबरुद्ध हुन पुगेको भट्टराईको भनाइ छ ।

दुहवीस्थित सबस्टेसन डुवानमा परेपछि त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए । सबस्टेसनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई आग्रह गरिएको प्रवक्ता भट्टराईले बताए ।

उनले दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया