दशैंको चहलपहलले कोरोना संक्रमण बढ्यो, तिहारमा निषेधाज्ञा हुन सक्ने !

२ बर्ष अगाडि

दशैँको चहलपहलसँगै कोरोनाभाइरस सङ्क्रमण दरमा पनि वृद्धि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पाँचदिनको अवधिमा संक्रमणदर १० प्रतिशत बढेको हो । 

असोज ३० गते १४७ जना नयाँ सङ्क्रमित फेला परेकोमा कार्तिक २ गते १,०९६ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्क छ।

दशैँअघि सङ्क्रमण दर पाँच प्रतिशतको हाराहारीमा रहेकोमा मङ्गलवार १० प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । 

भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपील गरिएको भए पनि त्यस्तो हुन नसकेकोले संक्रमण बढेपछि काठमाण्डू उपत्यकामा तिहारका बेला निषेधाज्ञा लागु हुन सक्ने आशंका गरिएको छ । 

चाडबाडका बेला संक्रमण बढेपछि अब छिट्टै नै जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर तिहार र छठको सन्दर्भमा थप सङ्क्रमण फैलिन नदिनका नयाँ रणनीति अपनाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी भावी अवस्थाको विश्लेषण र आकलनका आधारमा आगामी कदम चालिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

आगामी दिनहरुमा पनि संक्रमणदर बढ्दै गएमा कडाइ गर्नुपर्ने अवस्था देखिएमा आवतजावत घटाउने क्रमिक कदमहरू चाल्न सकिने उपाध्यायले बताए । 

तर सकेसम्म जनजीवन र आर्थिक गतिविधिलाई पूर्ण रूपमा ठप्प नै पार्ने गरी कदम नचालिने प्रशासनको आशय छ । 

दशैँ मनाएर गाउँगाउँबाट मानिसहरू अहिले सहर फर्कन थाल्ने क्रम शुरू भएकोले सङ्क्रमणको दर बढेको र केही दिनमा वास्तविक चित्र आएपछि थप कदम चालिने बताइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया