अब नेपालका बाणिज्य बैंकहरुले निक्षेपकर्तालाई अधिकतम ९.३ प्रतिशतभन्दा बढि ब्याज दिन नपाउने भएका छन् । नेपाल राष्ट्रबैंकले बुधबार बैंक तथा वित्तीय संस्थाको अधिकतम ब्याज दर ९.३ प्रतिशत तोकेपछि बैकहरुले सो भन्दा बढी ब्याज दिन नपाउने भएका हुन् ।
बुधबार गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र, ढकाल लगायतले ब्याज निर्धारण गर्ने निर्णय गरेका हुन्।
बैंकहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर राष्ट्र बैंकले मंगलबार बेलुका उल्ट्याउँदै नयाँ ब्याजदर तोक्न भनेको थियो । तर ब्रैकहरुले बुधबारसम्म आफै ब्याजदर नतोकेपछि केन्द्रीय बैंकले आफै अधिकतम ब्याज दर निर्धारण गरिदिएको हो ।
राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालले बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आफैले फोन गरेर ब्याज दर तोकिदिएका थिए।
उनका अनुसार बाणिज्य बैंकहरुले अधिकतम ९.३ प्रतिशतभन्दा बढि ब्याज दिन नपाउने तर सीडी रेसियो ९० प्रतिशत नाघेका बैंकलाई ९.३६ प्रतिशतसम्म ब्याज राख्न दिइने छ।
प्रवक्ता ढकालका अनुसार राष्ट्र बैंकले विकास बैंकको पनि ब्याजदर तोकिदिएको छ । ढकालले संघका अध्यक्ष प्रद्युमन पोखरेलसँग फोनमै कुराकानी गरेर दर तोकिदिएका थिए। उनका अनुसार विकास बैंकहरुले ९.५ प्रतिशतसम्म ब्याज दिन पाउने छन्। समस्याग्रस्तबाट मुक्त भएकाहरुले थप ०.१५ प्रतिशतसम्म ब्याज दिन पाउने छन्।
राष्ट्रबैंकले फाइनान्स कम्पनीहरुलाई ९.६ प्रतिशतसम्म ब्याज दिन पाउने गरि अधिकतम सिमा तोकिदिएको छ । ढकालले फाइनान्स संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतलाई राष्ट्रबैंकमा डाकेर दर तोकिदिएका थिए।
यसअघि ब्याज दरमा भद्र सहमति गराउँदै आएको राष्ट्र बैंकले यसपाली आँफैले अधिकतम ब्याज दर तोकिदिएको हो।
राष्ट्र बैंकले मंगलबार साँझ ब्याज दर अघिल्लो महिनाको भन्दा १० प्रतिशत तलमाथि मात्र गर्न पाइने निर्देशन दिएको थियो। साथै ब्यक्तिगतको भन्दा संस्थागतको १ प्रतिशत बिन्दु बढि ब्याज हुनु पर्ने ब्यवस्था गरेको थियो। यसबाहेक कात्तिकका लागि घोषणा गरिएको ब्याज खारेज गरेर असोजको ब्याजका आधारमा १० प्रतिशत तलमाथि गर्न पाइने ब्यवस्था गरेको थियो।
प्रतिक्रिया