आजबाट सामलिङ्ग पावरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशनमा आयो, कम्पनी कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं - सामलिङ्ग पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६ लाख ७९ हजार ९०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७ करोड ३० लाख रुपैयाँ गरी १२ करोड ३० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्काशन गरेको शेयरमा कार्तिक ८ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक १८ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग रहेको छ भने प्रत्याभुतकर्ता एनआईबिएल एस क्यापिटल रहेको छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०७० चैत २३ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा सामलिङ्ग पावर कम्पनीको नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो ।

२०७६ जेठ २४ गते पब्लिक कम्पनीमा परिणत भई सामलिङ्ग पावर कम्पनी लिमिटेडको रुपमा कारोबार सञ्चालन गर्दै आईरहेको छ ।कम्पनीको रजिष्ट्रार कार्यालय ललितपुर महानगरपालिका वडा नं. २ सानेपा ललितपुरमा रहेको छ ।

कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत केन्द्र भने इलाम जिल्लाको इलाम नगरपालिका साविक (इलाम नगरपालिका र गोदक गाविस) तथा माइजोगमाई गाँउपालिका (साविक सोयाङ र नामसालिङ गाविस) मा रहेको छ ।

कम्पनीले रन अफ रिभरमा आधारित ९.५१ मेगाबाट क्षमताको माइबेनी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी २०७८ असोज १ गतेदेखि आयोजना सञ्चालन गरिरहेको छ ।

आयोजनाको कुल लागत २ अर्ब रुपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया