आज यी स्थानमा हुँदैछ वर्षा, खोटाङका कच्ची सडक अवरुद्ध

२ बर्ष अगाडि

काठमाडौं - हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

साथै बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध बनेका छन् । ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरे–रसुवाघाट, दिक्तेल हाटडाँडा–खानीडाँडा–पञ्चमी, दिक्तेल अस्पतालचोक–मात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण यातायात सेवा प्रभावित भएको हो । कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो । दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकमा गत वर्षादेखि नै सवारी साधन चलेका छैनन् । 

बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको अवस्था पनि उस्तै नाजुक छ । सवारी साधन सञ्चालन नहुँदा आकस्मिक काम तथा चाडवाडका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । कच्ची सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बूलेन्स सेवा सबैभन्दा बढी प्रभावित भएको छ । एम्बूलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्ने गरिएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम र दिक्तेल–निर्मलीडाँडा सडक खण्डमा भने नियमित सवारी साधन सञ्चालन भइरहेको छ । कालोपत्रे भइसकेका दिक्तेल–जयराम सडकले नै हालसम्म जिल्लालाई हिउँद वर्षा राष्ट्रिय सडक सञ्जालमा जोडिरहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया