करिब १३ लाख मूल्य पर्ने बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर नेपाली बजारमा आउँदै, खुल्यो प्रि–बुकिङ

२ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर मोटरसाइकल बिक्रीका लागि उपलब्ध हुने भएको छ । नेपालमा बीएमडब्ल्यु मोटरसाइकलको आधिकारिक वितरक हिमालय मोटरार्डले यसको प्रि–बुकिङ खोलेको छ । करिव दुई सातामा सो मोटरसाइकल बिक्रीका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा पहिले देखि नै बीएमडब्ल्यु जी३१०आर मोटरसाइकल उपलब्ध भए पनि अब नयाँ आउने मोटरसाइकल बीएस६ मापदण्डको इन्जिन सहित आउने छ । त्यसैगरी अन्य केही अपडेट समेत यसमा गरिएको छ ।

यो मोटरसाइकलमा भएको ३१३ सीसी सिंगल सिलिन्डर, लिक्डिकुल्ड इन्जिनले ९,५०० आरपीएममा ३४ एचपी पावर र ७,५०० आरपीएममा २८ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा स्लिपर क्लच सहितको ६–स्पिड गियरबक्स छ ।

अपडेट गरिएको यो नयाँ मोडलमा सबै एलईडी लाइटको प्रयोग गरिएको छ । पहिले एलईडी टेललाइट मात्र उपलब्ध भएकोमा अब एलईडी हेडलाइट र टर्न इन्डिकेटर समेत छ । यसमा राइड बाई वायर, एड्जस्टेबल लिभर र इन्जिन केसिङमा विभिन्न प्रकारका फिनिस उपलब्ध छन् ।

त्यसैगरी अर्को परिवर्तन भनेको यसको कलर स्किम हो । यो ब्लु र ह्वाइट, ब्ल्याक र ह्वाइट तथा ब्राइट थ्री टोन ब्ल्याक, ह्वाइट एन्ड रेड कलरमा उपलब्ध हुनेछ । थ्री टोन अप्सनलाई ‘स्टाइल स्पोर्ट’ भनिन्छ र यसमा रेड कलरको फ्रेम र ह्विल समेत छ ।

बीएमडब्ल्यु जी३१०आर मोटरसाइकल पहिलो पटक सन् २०१८ मा लन्च गरिएको थियो भने यसको अपडेट भर्सन गत वर्षको अक्टोबरमा भारतमा लन्च गरिएको थियो ।

हाल नेपाली बजारमा उपलब्ध बीएमडब्ल्यु जी३१०आर को मूल्य ९ लाख ७५ हजार रुपैयाँ छ । बीएस६ इन्जिनयुक्त नयाँ मोडलको मूल्य कम्पनीले अहिले सार्वजनिक गरेको छैन । यद्यपि यसको मूल्य १३ लाख रुपैयाँ हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया