संसदीय श्रम समितिमा वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल

२ बर्ष अगाडि

काठमाडौं - प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सँग वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ । 

श्रममन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त छलफल गरेको हो । 

समितिका सदस्य रहेका श्रेष्ठ श्रममन्त्री भएपछि पहिलोपटक समितिको बैठकमा सहभागी भएका थिए । छलफलमा फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृत्ति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै आन्तरिक बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राखेका थिए । 

सभापति विमल श्रीवास्तवले लामो समयदेखि टुंगोमा पुग्न नसकिरहेको विषयमा सकेसम्म छिटो निर्णयमा पुग्न श्रममन्त्री श्रेष्ठलाई आग्रह गरिएको बताए । 

श्रममन्त्री श्रेष्ठले बिचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताए । मन्त्री श्रेष्ठले राम्रो पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिए  । 

मन्त्री श्रेष्ठले सरकारले बेलायतमा फाष्ट ट्र्याकबाट १० हजार नर्स पठाउन औपचारिक पहल शुरु गरेको जानकारी दिँदै सीप सिकाएर उपयुक्त गन्तव्य मुलुकमा नेपाली कामदार पठाउने गरी तयारी अघि बढेको बताए । 

२ बर्ष अगाडि

प्रतिक्रिया