श्रममन्त्रीको एक्सन

२ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान० बुधबार बिहानै सिनामंगलस्थित होटेल बाल्टिक इन पुगे । ईपीएस पास गरी रोजगारीका लागि दक्षिणा कोरिया जाने तयारीमा रहेका कामदारलाई कोरिया रोजगार संघर्ष समितिको अध्यक्ष बताउने अजय सोडारीले कम्तीमा हप्ता दिन क्वारेन्टिन अनिवार्य बस्नुपर्छ भनी दुई–तीन दिन होटलमा बसेका युवालाई समेत ७ दिनको बसे बराबरको रकम असुली गरेका थिए ।

मंगलबार साँझ खबर पाएका मन्त्री श्रेष्ठ सुरक्षाकर्मी, वैदेशिक रोजगार विभागका अधिकारीसहित बुधबार बिहानै अनुगमनका लागि उक्त होटल गएका थिए । मन्त्री श्रेष्ठको निजी सचिवालयले मंगलबार साँझ कोरिया जान लागेका शंकर नेपालमार्फत युवाहरुलाई होटलमा बन्धकझैँ बनाएर राखेको र युवाहरुबाट रकम असुलेको सूचना पाएको थियो । होटलमा पीडितको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले बन्धक बनाउने शैलीमा राख्ने र रकम असुल्न खोज्ने कार्यमा संलग्न एजेन्टसहित सबैलाई कारबाही गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले बन्धक बनाएर फिरौती असुली गर्न खोज्ने भन्दै तत्काल रकम फिर्ता गरिदिन भन्दै सोडारीलाई थर्काए । मन्त्रीले भने, ‘इमान्दारपूर्वक क–कस्को कति रकम लिएको छ, सबै फिर्ता गरिदिनु । कोरिया उड्ने दिन एयरपोर्टमा पीडितले कम्प्लेन गरेको खण्डमा सिधै थुनामा जानुपर्ने छ, क्लियर हुनुस् ।’

साथमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवाहरुसँग उनीहरूले खेप्नुपरेको अनावश्यक तनाव र हैरानीप्रति माफी मागे ।  मन्त्री श्रेष्ठले भने, ‘भाइहरूले अहिलेसम्म जति तनाव लिनुभयो त्यसका लागि मन्त्रीको हैसियतले क्षमाप्रार्थी छु, आगामी दिनमा यस्तो नचाहिँदो तनाव झेल्नुपर्ने छैन ।’ 

तनहुँ निर्वाचन श्रेत्र नं १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ मन्त्री भएदेखि नै अत्यन्तै सक्रिय देखिएका छन् । मन्त्री भएको डेढ महिनाको अवधिमा उनले मन्त्रालय मातहतका धेरै कार्यालयको छड्के निरीक्षणसमेत गरिसकेका छन् । निरीक्षणमा गएका सबै कार्यालयमा सेवाग्राहीको गुनासो सुनेपछि उनले तत्काल सुधारको आश्वासन दिने गरेका छन् । 

वैदेशिक रोजगार कार्यालय ताहाचलमा आश्वासन अनुसार सुधारको काम शुरू भएको दाबी मन्त्री श्रेष्ठको निजी सचिवालयले गरेको छ । मन्त्रीले चासो दिँदा ठगीबाट कसरी बचिने रहेछ भनी बुधबार कोरिया जाने तयारीमा रहेका युवाले पनि सुखद अनुभुति गरे । सुशासनको अभाव रहेको मुलुकमा मन्त्री नै उपस्थित भई असुविधाप्रति क्षमायाचना गर्नु विरलै देखिने घटनाको रूपमा धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरेको र मन्त्री श्रेष्ठको कार्यशैलीको खुलेर प्रशंसासमेत गरेका छन् । 

सँगसँगै कतिपयको टिप्पणी भने केही फरक देखिएको छ । उनीहरूले सुझाव दिँदै भनेका छन्, ‘राजधानी लगायत देशैभरी ठगीका यस्ता घटना अनगिन्ती छन् । त्यसका लागि मन्त्री एक्लै कुदेर हुँदैन । राजस्व अनुसन्धान विभाग जस्तो कर्मचारी र प्रहरीसहितको बलियो र इमानदार  टिम चाहिन्छ । स्थायीरूपमा परिणाम देखाउन मन्त्री आफू एक्लै कुद्नु भन्दा बलियो संरचनामा ध्यान दिन जरुरी छ ।’ मध्यान्ह दैनिक

२ बर्ष अगाडि

प्रतिक्रिया