मेस्सीको कीर्तिमानी, रोनाल्डोको भनाइ विवादमा

२ बर्ष अगाडि

एजेन्सी - अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेनका खेलाडी लियोनल मेस्सीले सातौं पटक बलुन डी योरको उपाधि जितेर कीर्तिमान बनाएका छन् । 

यो सँगै 'फ्रान्स फुटबल' म्यागेजिनका प्रधानसम्पादक पास्कल फेरीले रोनाल्डोको विषयमा दिएको भनाइ विवादमा परेको छ । बालोन डि ओरको अवार्डको आयोजक फ्रान्स फुटबलका प्रधानसम्पादक फेरीले गत शुक्रबार न्यूयोर्क टाइम्समा रोनाल्डोको विषयमा बोलेका थिए ।

फेरीले रोनाल्डोले अर्जेन्टाइन फरवार्ड लिओनल मेसीको भन्दा बढी बालोन डि ओर अवार्ड जितेर संन्यास लिन चाहेको बताएका थिए । फेरीले उक्त कुरा रोनाल्डोले आफूसँग बताएको दाबी गरेका थिए ।

उनको भनाइ सार्वजनिक भएको तीन दिन पछि मेसीले कीर्तिमानी सातौँ पटक बालोन डि ओर अवार्ड जितेका थिए । रोनाल्डोले पाँच पटक बालोन डि ओर पाएका छन् । बालोन डि ओरको अवार्ड घोषणा भएपछि रोनाल्डोले 'फ्रान्स फुटबल' का प्रधानसम्पादक फेरीको भनाइ खण्डन गरेका छन् ।

‘म सधैं आफ्नो लागि र मैले प्रतिनिधित्व गर्ने क्लबहरूका लागि जित्छु ।' इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका छन्, 'म आफ्नो लागि र मलाई माया गर्नेहरूको लागि जित्छु । कसैको विरुद्धमा जित्दिन ।' 

यसअघि शुक्रबार प्रधानसम्पादक फेरीले न्यूयोर्क टाइम्सलाई भनेका थिए, 'रोनाल्डोको एउटै महत्वाकांक्षा छ, र त्यो हो मेसीभन्दा धेरै बालोन डी ओर जितेर संन्यास लिने, र मलाई थाहा छ किनकि उनले मलाई भनेका हुन् ।'

यो भनाइ झुट भएको भन्दै रोनाल्डोले सामाजिक सञ्जालमा लेखेको लामो स्टाटसमा भनिएको छ । 'पास्कलले झुट बोले, उनले मेरो नाम आफैंलाई प्रवर्द्धन गर्न र आफूले काम गर्ने प्रकाशनलाई प्रचार गर्न प्रयोग गरे । यो अस्वीकार्य छ कि यस्तो प्रतिष्ठित पुरस्कार प्रदान गर्न जिम्मेवार व्यक्तिले यसरी झुटो बोल्न सक्छ । सधैं फ्रान्स फुटबल र बालोन डी ओरलाई सम्मान गरेको व्यक्तिको पूर्ण अनादार भएको छ । मेरो करियरको सबैभन्दा ठूलो महत्वाकांक्षा भनेको मैले प्रतिनिधित्व गर्ने क्लबहरू र मेरो देशको राष्ट्रिय टोलीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय उपाधि जित्नु हो । मेरो करियरको सबैभन्दा ठूलो महत्वाकांक्षा भनेको मेरो नाम विश्व फुटबलको इतिहासमा सुनौलो अक्षरले लेख्नु हो ।'

बालोन डि ओर अवार्ड विश्वभरका १८० पत्रकारको भोटको आधारमा फुटबल म्यागेजिन फ्रान्स फुटबलले प्रदान गर्दै आएको छ । सात पटक उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका मेसी सर्वाधिक अवार्ड जित्ने खेलाडी हुन् । मेसीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए ।

पाँच पटक अवार्ड जितेका रोनाल्डोले पछिल्लो पटक २०१७ मा अवार्ड पाएका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया