एमाले केन्द्रीय समितिमा ताप्लेजुङबाट एक पदाधिकारीसहित ५ सदस्य

२ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा निर्वाचित हुँदा थप ५ जना केन्द्रीय सदस्य भएका छन् । 

संघीय सरकारका पूर्व पर्यटनमन्त्री समेत भइसकेका भट्टराई सचिवमा १९६० मत लोकप्रिय दोस्रो मत सहित बिजयी हुँदा भूगोलतर्फ प्रदेश १ बाट टंक आङ्बुहाङ १८१६ मत र तिलकुमार मेन्याङ्वो १८०५ मत प्राप्त गरि केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । 

भट्टराई यसअघि पनि एमाले सचिव थिए । आङ्बुहाङ २०६३ सालमा अन्तरिम संसद सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेर बामगठबन्धनबाट ताप्लेजुङ १९ख०बाट निर्वाचित भइ प्रदेश १ सरकारको योजना तथा आर्थिक मामिला मन्त्री समेत भइसकेका हुन् । 

मेन्याङ्वो २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका सांसद निर्वाचित भएका थिए । यस्तै ताप्लेजुङको हाङ्देवा पुख्र्यौली घर भएका चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र खुल्ला केन्द्रीय सदस्यमा १४९४ मत ल्याइ विजयी भए । 

पासाङ शेर्पा आदिवासी जनजाति खुल्लातर्फबाट र उर्मिला थेबे आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्य भएका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहिसक्नु भएका शेर्पा २०६४ सालको संबिधानसभामा मन्त्रिपरिषद्बाट मनोनित संबिधानसभा सदस्य थिए । 

सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका वडाध्यक्ष समेत रहनु भएकी बामपन्थी आन्दोलनकी महिला अग्रज थेबे पहिलोपटक केन्द्रीय समितिमा पुगेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ भरीमा २ जना महिला वडाध्यक्षमा चुनिएका हुन् । 

ति मध्ये थेबे एक हुन् । फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा पनि ताप्लेजुङबाट एमालेको राष्ट्रिय महाधिबेशनमा जाने ४ महिलामध्ये सबैभन्दा बढी मत पाएर राष्ट्रिय महाधिबेशन प्रतिनिधि चयन भएका छन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया