हलमा घुँडा टेकेको फिल्म ‘हजार जुनीसम्म’यूट्युबमा हेर्न दर्शक ओइरो,ट्रेन्डिङको शिर्ष स्थानमा

२ बर्ष अगाडि

काठमाडौं, दर्शकहरुको यूट्युबमा फिल्म पर्खिने बानीले पछिल्लो समय नेपाली फिल्म हलमा फ्लप र यूट्युबमा सुपरहिट हुने श्रृंखला बढेको छ । मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ को कुरा गर्ने हो भने दुई वर्षअघि प्रदर्शनमा आएको यो फिल्मले हलमा घुँडा टेकेको थियो । निर्माण टिमले प्रचार(प्रसार गतिलै गरे पनि दर्शकले भने फिल्मलाई पत्याएनन् । फिल्मको माउथ पब्लिसिटी पनि बलियो थिएन । 
 
तीन दिन अगाडि यो फिल्म ओएसआरको यूट्युब च्यानलमा रिलिज भएको छ । यूट्युबमा सार्वजनिक हुनसाथ फिल्म हेर्न दर्शक ओइरिएका छन् । यूट्युब रिलिजको तीन दिनमा फिल्मले २३ लाख बढी भ्यूज पाएको छ भने ९५ प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त छ । जबकि, हलमा फिल्म हेर्दा नाक खुम्च्याउने दर्शक धेरै थिए । अहिले फिल्म यूट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । 
 
हलमा नचलेको फिल्म यूट्युबमा सुपरहिट भएको ‘हजार जुनीसम्म’ पहिलो उदाहरण भने होइन । यसअघि कयैन् फ्लप फिल्मले यूट्युबमा उल्लेख्य भ्यूजसहित सकारात्मक प्रतिक्रिया बटुलेका छन् । दुई हप्तादेखि यूट्युब ट्रेन्डिङमा रहेका दुई नेपाली फिल्म ‘यात्रा र लम्फू’ पनि हलमा फ्लप भएका थिए । यूट्युबमा भने यी दुवै फिल्मलाई राम्रो भ्यूजसँगै सकारात्मक प्रतिक्रिया मिलेको छ ।
 
विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ मा आर्यन सिग्देल, सलोन बस्नेत, स्वस्तिमा खड्का, शिवहरी पौडेल, सञ्चिता लुइँटेल, अखिलेस प्रधान, प्रियंका कार्की, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा आर्यन दुई फरक चरित्रमा प्रस्तुत छन् । फिल्मलाई सिक्किममा पूर्व मुख्यमन्त्री पवन चाम्लिङका छोरा विशाल चाम्लिङले निर्माण गरेका हुन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया