स्वास्थ्य मन्त्रालयको आग्रह : अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू

२ बर्ष अगाडि

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए । उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए । 

उनका अनुसार उक्त भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । 

केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (B.1.1.529) साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया