पर्वतको नयाँ मोदीदेखि कास्कीको लाहाचोकसम्मको प्रसारण लाइन सञ्चालन

२ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले पर्वतको नयाँ मोदी देखि कास्कीको लाहाचोकसम्म विद्युत आपूर्ति गर्ने १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गतको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी प्राधिकरणले आज बुधवारदेखि सञ्चालनमा लाइको हो । 

लाहाचोकमा १३२/३३ केभी सबस्टेशनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेशनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा बिजुली आपूर्ति गरिनेछ ।  

यसबाट त्यस क्षेत्रको बिजुली आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘पोखराबाट त्यस क्षेत्रमा बिजुली आपूर्तिका लागि लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो’, उनले भने, ‘अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भइ उपभोक्ताले भरपर्दो र गुणस्तरीय बिजुली पाउनेछन् भने चुहावटसमेत घट्नेछ ।

आयोजनाअन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इन्डियाको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको आयोजनाअन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ । सन् २०१८ जुलाई २१ बाट सुरु भएको यस आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयवासीको अवरोधका साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताउनुभयो । 

२ बर्ष अगाडि

प्रतिक्रिया