झ्याप्प झ्याप्प बत्ति जाने समस्या किन भैरहेको छ ?

२ बर्ष अगाडि

तपाईं बसेको ठाउँमा झ्याप्प बिजुली आउने–जाने भइरहेको छ ? कतै कम भोल्टेज भएर काम रोकिएको पनि होला ।  केही दिन यता काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा यसरी विद्युत् आपूर्तिमा समस्या देखिएको छ । 

चिसोका कारण बिजुलीको माग अधिक र ओभरलोडेड विद्युत् प्रसारण हुँदा पुराना उपकरणमा समस्या भएपछि विभिन्न स्थानहरूमा विद्युत् आपूर्तिमा समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित देशका केही भागमा बत्ती जाने मात्र नभई कतिपय स्थानमा भोल्टेज कम हुने समस्या पनि बढेको छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले अत्यधिक माग भएर वितरण प्रणालीमा समस्या भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको रातोपाटीलाई जानकारी दिए ।  बुधबारको झरीपछि बढेको चिसोका कारण विद्युत् माग बढेको र त्यसको लोड विद्युत् आपूर्ति गर्ने उपकरणहरू ट्रान्सफर्मर, बिजुलीका तारमा परेको कारण विद्युत् बिजुली जाने समस्या भएको विद्युत् प्राधिकरणका प्रवक्ता भट्टराईले बताए । 

उनले भने–‘उपभोक्ताको तर्फबाट धेरै विद्युत्को माग भयो, हाम्रा आपूर्ति संरचनाले त्यसको लोड धान्न सकेन । कतै विद्युत् ओभरलोड भएर ट्रान्सफर्मरमा समस्या आयो, फ्युजहरू गयो, कहीँ एमसीबीमा समस्या आयो, कहीँ कन्डक्टर चुँडियो । यिनै कारणहरूले केही समस्या उत्पन्न भइरहेको हो ।’


अन्य सामान्य बेलामा काठमाडौँ उपत्यकामा ३ सय मेगावाट विद्युत् माग हुने गर्थ्यो, जाडोको समयमा करिब ४ सय मेगावाट विद्युत् माग हुने गर्थ्यो, तर यो वर्षको चिसो याममा ४ सय ६० देखि ७० मेगावाट विद्युत् माग भएको उनले बताए । विद्युत् आपूर्ति गर्नका लागि कुनै समस्या नरहे पनि वितरण उपकरणका कारण समस्या भएको उनको भनाई छ । 

देशभरको अवस्था हेर्दा बुधबार १७ सय मेगावाट विद्युत् माग रहेकोमा बिहीबार १६ सय मेगावाट विद्युत् माग रहेको भट्टराईले बताए । उनले भने–‘हामी १८ सय मेगावाटसम्म नियमित विद्युत् आपूर्ति गर्न सक्छौँ । अहिले बिद्युत्को समस्या हैन, समस्या भौतिक पूर्वाधारहरूको हो । भौतिक पूर्वाधारहरू पुरानो र जीर्ण अवस्थामा भएकोले समस्या आएको हो ।’

विद्युत् ओभरलोड भएर समस्या आएका संरचना प्राधिकरणका प्राविधिकहरूले मर्मत गरिरहेको उनले बताए । एक ठाउँमा मात्र नभएर विभिन्न ठाउँमा समस्या आउँदा र जनशक्ति कम तथा चिसोका कारण केही स्थानमा मर्मतको काम ढिलाइ भएको भट्टराईले बताए । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया