आजदेखि झ्याप झ्याप विजुली जाने समस्या हट्ने कुलमानको दावी

२ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले आजदेखि विद्युत झ्याप झ्याप बत्ती जाने समस्या नहुने जनाएको छ । 

क्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज बेलुकीदेखि आपूर्तिमा समस्या नहुने दाबी गरेका हुन् । 

केहीदिनदेखि विद्युतको माग ह्वात्तै बढेका कारण प्रणालीले थेग्न नसकेर ट्रान्सफर्मर पड्कने तथा तार जल्ने भएकोले काठमाडौं उपत्यकाका केही ठाउँमा आपूर्तिमा समस्या भएको भन्दै त्यसको व्यवस्थापन भैसकेको उनले बताए । 

काठमाडौं उपत्यकामा करिब ३ हजार ८ सय वटा ट्रान्सफर्मर जडान गरिएकोमा ५०÷६० वटामा समस्या आएको प्राधिरणले जनाएको छ। जलेका ट्रान्सफर्मर फेर्ने र आवश्यक परे क्षमता बढाउने देखि ट्रान्सफर्मरको संख्या थप्ने सम्मको काम भइरहेको घिसिङले बताए। ट्रान्सफर्मर फेर्दा फिडर नै बन्द गर्नुपर्ने र त्यसका लागि केहि घण्टा समय  लाग्ने भएकाले पनि समस्या भएको उनको तर्क छ।

चिसो बढेसँगै आजभोली बिहान करिब १ घन्टा र बेलुकी १ घण्टा विद्युतको माग बढेको जानकारी दिँदै घिसिङले गत वर्षको तुलनामा करिब १ सय मेगावाट विद्युत थप माग बढेको पनि जानकारी दिए । 

२५० देखि ३ सय मेगावाट माग रहेको उपत्यकामा पिक आवरमा ४५० देखि ५ सय मेगावाट पुगेका कारण बत्ती जाने समस्या भएको हो।

प्राधिकरणका अनुसार अहिले देशभर विद्युतको माग १ हजार ६९९ मेगावाट पुगेको छ। विद्युत प्राधिकरणको ५२५ मेगावाट, प्राधिकरणको सहायक कम्पनी ५२२  मेगावाट, निजी क्षेत्रको ४०९ मेगावाट गरि कुल १५५६ मेगावाट आन्तरिक उत्पादन छ भने भारतबाट १६९ मेगावाट आयात गरेर व्यवस्थापन भइरहेको छ।

घिसिङका अनुसार माग व्यवस्थापनका लागि भारतबाट अफ पिक आवरमा समेत आयात बढाइएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया