धितोपत्र बोर्डको आम्दानी  १७५ प्रतिशतले बढ्यो, कुल सम्पत्ति कति ?

२ बर्ष अगाडि

काठमाडौं-नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७ करोड २९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

धितोपत्र बोर्डको आम्दानी अघिल्लो आव २०७६/७७ को तुलनामा १७५ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बोर्डले ३८ करोड ९६ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

गत आवमा बोर्डले धितोपत्र बजारबाट ९८ करोड ८५ लाख र अन्य आम्दानीबाट ८ करोड ४४ लाख रुपैयाँ गरी कुल १ अर्ब ७ करोड आम्दानी गरेको छ । अघिल्लो आव २०७६/७७ मा कम्पनीले धितोपत्र बजारबाट २८ करोड १७ लाख र अन्य आम्दानीबाट १० करोड ७९ लाख रुपैयाँ गरी कुल ३८ करोड ९६ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

गत आव २०७७/७८ मा बोर्डले २२ कम्पनीलाई १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ आईपीओ, ७ कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको हकप्रद, २३ कम्पनीलाई ६९ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र, ९ कम्पनीलाई ९ अर्ब ९० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो । 

यसअघि अघिल्लो आव २०७६/७७ मा भने बोर्डले ९ कम्पनीलाई ३ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ आईपीओ, ११ कम्पनीलाई ४ अर्ब ४१ करोड २ लाख रुपैयाँ बराबरको हकप्रद, १२ कम्पनीलाई २३ अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र, २ कम्पनीलाई १ अर्ब ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा बोर्डको खुद नाफा ६८ करोड ७० लाख ३७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आव २०७६/७७ मा १६ करोड ६९ लाख ७० हजार रहेको बोर्डको नाफा ५२ करोड अर्थात ३११।४७ प्रतिशतले बढेको हो ।

बोर्डको कुल सम्पत्ति २ अर्ब ६ करोड ४३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १ अर्ब ३८ करोड ९ लाख ८९ हजार रहेकोमा एक वर्ष अवधिमा ६८ करोड ३३ लाखले बढेको छ ।

पछिल्लो समय धितोपत्र बोर्डलाई बजारको विकास, लगानीकर्ताको हितभन्दा पनि कसरी कमिसन बढ्न सक्छ र आम्दानी बढाउन सकिन्छ भन्ने उद्देश्यले उसले काम गरेको आरोप लाग्ने गरेको छ । आफूले नियमन गर्ने संस्थाबाट विभिन्न नियमन शुल्कबापत आर्थिक वर्ष २०७१।७२ मा १० करोड रुपैयाँ संकलन गरेको धितोपत्र बोर्डले ६ वर्ष अवधिमा दश गुणा बढी अर्थात १ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया