पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको रहस्मय हीरा लिलामीमा, ६० लाख डलर बढीमा मूल्य पाउने अपेक्षा

२ बर्ष अगाडि

एजेन्सी - पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममार्फत बिक्रीमा राखिएको छ ।

अर्बौ वर्षअघि बनेको यो रहस्मय हीराको नाम ‘द एनिग्मा’ दिइएको छ । यो रत्नको उत्पत्तिबारे विभिन्न मान्यताहरु छन् । तीमध्ये एउटाका अनुसार यो अन्तरिक्षबाट पृथ्वीमा आइपुगेको हो ।

यो हीरा ५५५.५५ क्यारेटको छ । जुन एकदमै अस्वाभाविक हो । यसको तौल एउटा केराको जति छ । सजावट कला, गहना र विभिन्न वस्तुको ठूलो बिक्रेता सथबीले लन्डनमा लिलामीमा राखेको यो हीराले ६० लाख डलरभन्दा बढीमा मूल्य पाउने अपेक्षा गरेको छ । अनलाइन माध्यमबाट इच्छुक क्रेताहरु आगामी सातासम्म लिलाम बढाबढमा सहभागी हुन सक्छन् ।

उक्त हीरा कार्बनेडो अर्थात् प्राकृतिक हीराको सबैभन्दा कडा स्वरूपहरुमध्ये एक हो । कालो हीरा सामान्यतया झन्डै २.६ देखि ३.२ अर्ब वर्ष वा डाइनसोर अस्तित्वमा हुँदाको समयभन्दा पुरानो हुन्छ । पृथ्वी झन्डै ४.६५ अर्ब वर्षअघि उत्पन्न भएको हो । त्यसैले पृथ्वी र यो हीराको आयुको तुलना गर्ने गरिएको छ ।

सथबीले यो हीराको बिक्रीलाई ‘मानवजातिलाई थाहा भएका दुर्लभ, अर्बौं वर्ष पुराना आश्चर्यहरुमध्ये एक प्राप्त गर्ने अवसर’का रूपमा व्याख्या गरेको छ । ठ्याक्कै ५५५.५५ क्यारेट तौलको हीरालाई ५५ वटा पाटो देखाउनेगरी काटिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया