पर्यटकहरुलाई भिसा शुल्क बापतको रकम ‘नगद’ नै बुझाउन आग्रह, व्यापक विरोध

१ बर्ष अगाडि

काठमाडौं - त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले पर्यटकहरुलाई भिसा शुल्क बापतको रकम ‘नगद’ नै बुझाउन आग्रह गरेपछि त्यसको व्यापक विरोध भएको छ । 

सूचना जारी भए लगत्तै सामाजिक सञ्जालमा पर्यटनसम्बद्ध व्यवसायीहरुले चर्को विरोध गरेका हुन । एटीएमको यथोचित संख्या थप्ने एवम् विद्युतीय भुक्तानीलाई समस्यारहित बनाउनु पर्नेमा जोड दिएका छन् । 

कार्यालयले एक सुचना जारी गर्दै पर्यटक आगमनसँगै दिइने भिसा (अन अराइभल भिसा) जारी गर्दा तिर्नुपर्ने रकम साथमै बोक्न पर्यटकहरुलाई आग्रह गरेको हो । 

अहिले विमानस्थलमा अध्यागमनले ‘अन अराइभल’ भिसा शूल्क बैंकबाट भुक्तानी लिने व्यवस्था गरिएको छ । ती बैंकले अमेरिकी डलर तथा अन्य सटही हुने मुद्रा मात्र स्वीकार गर्ने समेत कार्यालयले जारी गरेको सूचनामा छ ।

विमानस्थलमा ग्लोबल आईएमई बैंकको एक मात्रै एटीएम रहेकाले सो एटीएममा पनि भीडभाड बढेको र त्यसमा पनि अनेक प्राविधिक समस्या देखिएकाले पर्यटकले समस्या भोग्न परिरहेको छ । 

पर्यटकहरुले विद्युतीय माध्यमबाट भिसा कार्ड, मास्टर कार्ड र अन्यबाट भीसा शूल्क तिर्न समस्या देखिएको सूचनामा जनाइएको छ । शूल्क तिर्न समस्या हुँदा यात्रुहरु विमानस्थलमै लामो समय फस्ने समस्या भएको बताउँदै पर्याप्त पैसा न्यूनतम पनि २ सय अमेरिकी डलर नगद नै बोकेर आउन कार्यालयले आग्रह गरेको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया