मल्टीप्लेक्सले विदाई गरिसकेको ‘ए मेरो हजुर ४’फेरि पर्दामा, तीन हप्तामा झन्डै ६ करोड कमाई

१ बर्ष अगाडि

काठमाडौं, चौथो हप्ता (बैशाख २३) बाट काठमाडौंका मल्टीप्लेक्सहरुले  ‘ए मेरो हजुर ४’ लाई औपचारिक रुपमा विदाई गरे ।  बैशाख १ गतेबाट प्रदर्शन थालनी गरेको फिल्म ‘ए मेरो हजुर ४’ तीन हप्तासम्म निर्धक्क चल्यो । साउथ फिल्मको चेपुवाका बीच पनि फिल्मले तीन हप्तामा झन्डै ६ करोड पैसा छाप्यो । 

एकातिर ठूला विदेशी फिल्मको ताँती अनि अर्कोतिर हप्तैपिच्छे नेपाली फिल्म रिलिज भएकाले शो संख्या मिलाउन ‘केजीएफ २’लाई मात्र यथावत् राख्दै ‘ए मेरो हजुर ४’को सम्पूर्ण शो काटिएको थियो । तर, २४ घण्टामै फेरि केही मल्टीप्लेक्सहरुले फिल्मलाई पर्दामा फर्काएका छन् ।
 
बैशाख १६ मा रिलिज भएको नेपाली फिल्म ‘मन्त्र’सँगै दुई बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’को व्यापार कमजोर हुनु र बैशाख २३ मा रिलिज भएका दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ले दर्शक तान्न नसकेपछि मल्टीप्लेक्सहरुले ‘ए मेरो हजुर ४’लाई फेरि चलाएका हुन् । फिल्मलाई पुनः चलाउँदा पनि अन्य नेपाली फिल्मको भन्दा व्यापार राम्रो रहेको बताइएको छ । 
 
‘ए मेरो हजुर ४’ले तेस्रो हप्ताको अन्तिमसम्म घरेलु बजारबाटै लगानी सुरक्षित गरिसकेको निर्माताले जानकारी दिएका छन् । अब हलबाट हुने आम्दानी फिल्मको नाफा हुनेछ । त्यस्तै, फिल्मको डिजिटल र ओभरसिज राइट्स पनि महंगोमा विक्री भइसकेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा लिड रोलमा छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया