दोबिल्ला–पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति, मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

१ बर्ष अगाडि

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ ।  

साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने भएको हो । 

यसका लागि सम्भाव्यता अध्ययनको योजनामा समावेश गर्नका लागि मन्त्रालयले सडक विभागलाई स्वीकृति प्रदान गरेसँगै काम अघि बढ्ने  छ । यही जेठ २६ गतेको सचिवस्तरको बैठकको निर्णयअनुसार विभागलाई स्वीकृति  प्रदान गरिएको सो मन्त्रालयका शाखा अधिकृत रामजी घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयबाट स्वीकृत भएसँगै सडक विभागलाई काम अघि बढाउन पत्राचारसमेत गरिसकिएको छ ।
 
सुरुङमार्ग आयोजनाको अध्ययनको काम आगामी आर्थिक वर्षबाटै सुरु हुने जनाइएको छ । सुरुङमार्ग बनेपछि ६० किलोमिटर लामो सडक जम्मा १० देखि १२ किलोमिटरमा पामे, घाटीछिनामा जोडिने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने जनाइएको छ ।  उक्त सुरुङमार्ग निर्माण भएपछि पर्वतबाट अहिले दुई घण्टा लाग्ने यात्रा अवधि आधा घण्टामै छोटिने अनुमान गरिएको छ । 

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो । 

सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ । डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिए । 

“एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै ४० किलोमिटर मार्ग खोलिसकेको छ”, उहाँले भन्नुभयो, “यसपालि एक लाख ८७ हजार घनमिटर कटिङ र तीन हजार ५१० घनमिटर ग्याबियन पर्खाल लगाउने थालिएको छ ।”  

वि.सं. २०७८ चैत १७ गते रु चार करोड ६४ लाख ८२ हजार २६७ मा जागृति–कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । वि.सं. २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ । निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताए । 

दुई वटा एक्साभेटर (डोजर)ले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन् । केही दिनमै ग्याबियन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधि रोकायले बताए । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा सडक निर्माण भइरहेको छ । 

मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पु¥याउन लागिएको हो । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया