नेपाली राइडर दीपक साह बने र्‍याली अफ चाम्बा विजेता

१ बर्ष अगाडि

नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली  अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । गत जुन १६ देखि १९ सम्म आयोजित सो प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । 

रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍याली मा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो स्थान हासिल गरेका हुन् । सो ¥याली अन्तर्गत पहिलो दिन चाम्बाको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भएको थियो । प्रतियोगितामा टु ह्विलरका साथै फोर ह्विलर गाडी समेत सहभागी थिए । 

दोस्रो दिन चाम्बाबाट लेग १ प्रारम्भ भयो । यो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दुरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । सबै गरी ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दुरी राइडरहरुले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दुरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दुरी १६७ किलोमिटर थियो । 

ग्रुप डी अन्तर्गत पनि उनी २५० सीसी भन्दा माथिको क्याटागोरीमा सहभागी भएका थिए । यस अनुसार उनी ग्रुप डी क्लास ११ अन्तर्गत सहभागी भएका थिए । यो समूहमा रोयल इन्फिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । सो रुटमा ग्राभेल, डर्ट, स्लस जस्ता हार्ड अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ ।

पुरस्कार
यसरी पहिलो स्थान हासिल गरेर उनले ट्रफी जितेका छन् । हिमाचल प्रदेशका मुख्यमन्त्री र विधायक लगायतले पुरस्कार वितरण गर्दा साहले ढाका टोपी र नेपाली झन्डा भएको टिसर्ट लगाएका थिए । उनी नेपालबाट सहभागी भएको सुन्दा खुसी व्यक्त गर्दै उनीहरुले थप हौसला दिदै आगामी दिनमा समेत सहभागी हुन आग्रह गरे । 

लगातार जित
दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमालयमा भाग लिएका थिए । यो विश्वकै सबैभन्दा उच्च स्थानमा हुने मोटर स्पोर्ट्स इभेन्ट हो । पहिलो पटक भाग लिने क्रममै उनको खुट्टा भाचिएको थियो । उनले केही समय आराम गर्नुपरेको थियो ।

अर्को वर्ष २०१८ मा उनले रोयल इन्फिल्ड क्याटागोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इन्फिल्ड बिधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै आफूलाई पहिलो नम्बरमा दर्ज गर्न सफल भएका थिए । त्यो वर्ष उनले स्टेजमा नेपालको झन्डा फहराएर पुरस्कार ग्रहण गरेका थिए ।

अहिले पनि रोयल इन्फिल्डमै सहभागी भएर उनले अर्को सफलता हासिल गरेका छन् । बीचमा कोभिडका कारण कुनै पनि प्रतियोगिता आयोजना भएको थिएन । 

काठमाडौं देखि दिल्ली चण्डीगढ हुँदै चाम्बा
प्रतियोगितामा सहभागी हुन उनी जुन १० मा नै काठमाडौंबाट दिल्ली, चण्डीगढ हुँदै हिमाचल प्रदेश प्रस्थान गरेका थिए । काठमाडौंको २५ डिग्री, दिल्लीको ४४ डिग्री, चण्डीगढको उस्तै गर्मी, अनि ४ हजार ५ सय मिटर सम्मको उचाईमा अवस्थित साचपासको माइनस ५ डिग्री सेल्सियस सम्मको तापक्रममा समायोजना हुनु कम चुनौतीपूर्ण थिएन । चण्डीगढमा पुगेर बाइक लिए पछि उनले टायर, ह्यान्डल आदि मिलाए । चण्डीगढबाट पठानकोट करिब २६० किलोमिटर र पठानकोटबाट चाम्बा करिव १२० किलोमिटर छ । त्यसपछि एक जना मेकानिक्स र म्यानेजरको व्यवस्था गरेर उनी पठानकोट हुँदै चाम्बा पुगेका थिए । मेकानिक्सले बाइकको वारेमा सबै व्यवस्थापन गर्छन् भने म्यानेजरले अन्य सबै व्यवस्थापन । बाइक राइडरलाई अन्य कुरामा व्यवधान नहोस् भनेर मेकानिक्स र म्यानेजरको व्यवस्थापन आफैले गर्नुपर्छ । 

उनी ३ दिन अघि नै चाम्बा पुगेर पहिले नै तोकिएको ¥याली रुटको वारेमा अध्ययन गरे । यसबाट सो रुटको वारेमा ३ दिन सम्म रेकी गरेर आफूलाई तयार गरे । पहिलो दिन ग्रुप अनुसारका राइडर र राइडरको बाइक वारेमा सबै स्क्रुटिनी गरिन्छ । बाइक ¥यालीका लागि योग्य छ कि छैन भनेर सबै चेक गरिन्छ । यी सबै कार्य पश्चात मात्र उनी ¥यालीमा सहभागी भएका थिए । 

प्रतियोगिताको आयोजक
भारतको हिमाचल प्रदेशस्थित ब्राउन बियर मोटर स्पोर्ट्सले सो प्रतियोगिताको आयोजना गरको हो । सो प्रतियोगिताको रुटमा करिव ४ हजार ५ सय मिटर उचाईमा अवस्थित साचपास समेत रहेको छ । भारतको हिमाचल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त यो एक मात्र महत्वपूर्ण प्रतियोगिता हो । त्यसैगरी फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) बाट स्वीकृत प्राप्त प्रतियोगिता हो । यसबाट पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको भनाइ छ । 

पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएर नेपालको नाम राखिसकेका हुनाले दीपकलाई सो इभेन्टका लागि आयोजकले नै निमन्त्रणा गरेका थिए । नेपालबाट सहभागी हुने भएकाले उनलाई विशेष सम्मान सहित प्रतियोगितामा लाग्ने रजिष्ट्रेशन शुल्का उनलाई केही छुटको समेत व्यवस्था समेत गरिएको थियो । यद्यपि अन्य सबै खर्च भने दीपकले व्यक्तिगत रुपमा नै व्यहोरेका थिए ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया