एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन दोब्बर बढी खर्च, हजार भन्दा ५०० दरका नोटको छपाइ महँगो

१ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्य भन्दा दोब्बर बढी (साढे दुई रुपैयाँ) सम्म खर्च गर्ने गरेको छ । 

राष्ट्र ब्याङ्कका अनुसार सबैभन्दा कम खर्चमा १० रुपैयाँको नोट छापिन्छ । सबैभन्दा बढी खर्च रु ५०० को नोट छाप्न लाग्दै आएको छ ।

अहिले रु १ र रु २ का नोट छापिँदैनन् र सिक्काहरू मात्रै छापिँदै आएका छन् । स्टिल र पित्तल धातुबाट बन्ने दुवै दरका सिक्काको वास्तविक मूल्यभन्दा छपाइ खर्च महँगो छ ।

बाहिर पित्तलको लेप लगाइएको भए पनि एक र दुई रुपैयाँ दरका सिक्का स्टिलबाट बनेका हुन्छन् । दुई रुपैयाँको सिक्का छाप्न प्रतिसिक्का रु २।७३ लाग्ने गरेको छ ।

महँगोमा सिक्का छपाइका कारण मात्रै राष्ट्र ब्याङ्कलाई हरेक वर्ष १० करोड घाटा हुने गरेको अधिकारीहरू बताउँछन् । राष्ट्र ब्याङ्कले पछिल्लो समय एक रुपैयाँ दरका ३० करोड र दुई रुपैयाँ दरका १० करोड सिक्का छापेर राखेको छ ।

पाँच रुपैयाँको नोट छाप्न रु १.६८, १० रुपैयाँको छाप्न रु १.४० र २० रुपैयाँको छाप्न रु १.७३ खर्च लाग्ने गरेको छ । पचास रुपैयाँको एउटा नोट छाप्न रु २.६७ पैसा र १०० को नोट छाप्न रु २.९९ खर्च लाग्छ ।

पछिल्लो पटक राष्ट्र ब्याङ्कलाई रु १,००० भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ । रु १,००० को नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत छ ।

५०० को नोटमा थप सुरक्षा विशेषता रहेका कारण पनि महँगो भएको हो ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया